

देउखुरीबाट ब्याजदर घटाउन माग गर्दै गभर्नरलाई ज्ञापनपत्र

दाङ – नेपाल राष्ट्र बैंकका गभर्नरलाई देउखुरी उद्योग वाणिज्य संघले ज्ञापनपत्र बुझाएको छ। बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज बढाएको विरोधमा उद्योग वाणिज्य संघको अगुवाइमा देशभर विरोध भइरहेको छ।
बढेको ब्याजदर फिर्ताको माग गर्दै इलाका प्रशासन कार्यालय लमहीमार्फत नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए।
‘व्यापारीहरु सडकमा आउने अवस्था भयो। लगानीको वाताववरण छैन,’ उनले भने, ‘चर्को ब्याजदर लगाएर ढाड सेक्ने काम भयो।’
उद्योग वाणिज्य संघको अगुवाइमा पुगेको प्रतिनिधि मण्डलले इलाका प्रशासन कार्यालय लमहीका प्रमुखमार्फत नेपाल राष्ट्र बैंकका गभर्नरलाई माग पत्र पठाएको उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेलले जानकारी दिए।
कर्जा लगानी गर्दा ८ प्रतिशत ब्याजदरसम्म लगाएका बैंकले पछिल्लो समय त्यसमा बढाएर १६ प्रतिशतसम्म पुर्याएका छन्। जसले गर्दा व्यावसायी आन्दोलित भएका हुन्।

