

सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा भोली अभियोजनपत्र दायर गरिँदै !

काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र सोमबार (भोलि) जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ । नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो ।
प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।
अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ ।
१७ वर्षीया एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति गौशालाको एक होटलमा लगेर बलात्कार गरेको जनाइएको छ ।

