

दर्शक तान्दै ‘के घर के डेरा’, देशभरका अधिकांश हल हाउसफूल

काठमाडौं – तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ले दर्शकलाई नेपाली चलचित्र तर्फ आकर्षित गराएको छ ।
दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको यस चलचित्रले देशभरका अधिकांश हलमा हाउसफूलको व्यापार गरेको कार्यकारी निर्माता युवराज कार्कीले जानकारी दिए ।
घर र डेरामा बस्ने मानिसहरूको समस्यालाई उठाइएको यस चलचित्रको कमेडी पाटोलाई दर्शकले बढी रुचाएका छन् । ताली र हाँसोको फोहरा हलमा पटकपटक गुन्जिन्छ ।
चलचित्रलाई दर्शकले दिएको साथले आफूलाई उत्साहित बनाएको निर्देशक दीपेन्द्र के. खनाल बताउँछन् । सिङगल स्क्रिनमात्रै नभइ राजधानीका ठूला मल्टीप्लेक्सहरू एफक्यूब, बिग मुभिज, वान सिनेमाज्, विएसआर, क्यूज सिनेमाज्, आइएनआई सिनेमाजमा पनि दर्शकको चाप उल्लेख्य रहेको कार्कीले जानकारी दिए ।

