

रुपन्देहीमा निर्माणाधीन खानेपानी ओजनाको पाइपमा आगलागी

बुटवल – रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइपको थुप्रोमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा आगलागी भएको हो । बिहान ११ बजे एक्कासि पाइपमा आगो लाग्न सुरु गरेको थियो ।
सिद्धेश्वर धाम नजिक संघीय सरकारले खानेपानी आयोजना विस्तारका लागि राखेका पाइपहरुमा आगलागी भएको हो । आगलागीबाट करिब २० किलोमिटर क्षेत्रफलमा विस्तारका लागि राखिएका पाइप जलेर नष्ट भएका छन् ।
आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको उनले बताए । स्थानीयका अनुसार आगलागीबाट लाखौं मूल्यको पाइप जलेर नष्ट भएको छ । लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा कसरी र कसले आगो लगायो भन्ने बारे अनुसन्धान हुने डीएसपी राठौरले बताए ।

