

उपराष्ट्रपति पुनः राजनीतिक चलखेलमा सक्रिय, प्रचण्ड–बाबुरामबीच ‘सेटिङ’

काठमाडौं– आफूलाई एलर्जी नै हुने भनिएको सेटिङकै काममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय रहेको पाइएको छ। यसका लागि प्रचण्डले उपराष्ट्रपति नन्दबहादुर पुनको प्रयोग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलन चर्काउनका निम्ति पुनःले आफ्नो निवासमा प्रचण्डसँग जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटाएको तथ्य फेला परेको छ।
शुक्रबार साँझ पुनःले त्यसो गरेका हुन्। नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । सो क्रममा नेकपाको आन्दोलनमा भारतीय साथ नरहेको भन्दै अन्तर्राष्ट्रिय समर्थन र त्यसमा पनि भारतको अनिवार्य सहयोगको खोजी हुनुपर्ने प्रचण्ड–भट्टराईबीच छलफल भएको उच्च स्रोतले जनायो।
प्रतिनिधि सभा विघटनविरुद्ध भारतीय धारणा सार्वजनिक गराउनका लागि पनि सेटिङ मिलाउनका लागि भट्टराईलाई प्रचण्डको आग्रह थियो। भारतको मुम्बईमा पुगी त्यहाँका गभर्नर भगतसिंह कोसीयारीसँग भेटी प्रधानमन्त्री नरेन्द्र मोदीसम्म आफ्नो पहुँच बनाउने प्रचण्डको रणनीति असफल भएपछि अर्को बाटो तय गरेका हुन्। कोसीयारीले उनलाई भेट दिएका थिएनन्।
भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिएका छन्। उनले जनआन्दोलन गर्नुपर्ने भन्दै आएका छन्।

