

अमलेखगञ्ज बस दुर्घटना : १५ को मृत्यु, २० जनाको अवस्था गम्भीर

सिमरा – बाराको पथलैया-हेटौंडा सडकखण्डअन्तर्गत ३ नम्बर पुलमा यात्रुबस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार १० जनाको घटनास्थलमै र पाँच जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
तीमध्ये नौजना पुरुष र छजना महिला रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । नारायणघाटबाट वीरगन्जतर्फ आउँदै गरेको बा. प्र-०६-००१ ख ०११० नम्बरको बस ३ नम्बर पुलको मोडमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बिहीबार बिहान साढे १० बजेतिर बस दुर्घटनामा परेको खोला सडकबाट करिब १५ मिटर तल पर्छ । उपचाररत यात्रुमध्ये धेरैजसो गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएकोमा २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए । सामान्य घाइते केही व्यक्तिको बाराको सिमरास्थित अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसमा सवार अधिकांश यात्रु बारा र पर्सा जिल्लाकै थिए।
कुल ३२ सीट क्षमताको बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको पाइएको प्रहरीको अनुमान छ। यद्यपि मकवानपुरको रातोमाटोमा सुरक्षा जाँच गर्दा त्यति बेला बसमा ४० जना सवार रहेको पाइएको प्रहरीले जनाएको छ।

