

बर्दियाका दर्जनौं घर डुबानमा, बबई नदीले खतराको तह नाघ्यो

गुलरिया – मंगलबार रातीदेखि परेको अविरल वर्षाका कारण बबई नदीले खतराको तह नाघेपछि बर्दियामा दर्जनौं घर बाढीबाट डुबानमा परेका छन् । बबई नदीको बाढीले गुलरिया नगरपालिका अन्र्तगत बालापुर, सूर्यगौडी लगायत बान्धुपुरका बस्तीहरु डुबानमा परेका हुन् ।
डुवान क्षेत्रका स्थानीयहरुलाई सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । नदीमा पानीको सतह घटेपनि पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले तल्लो तटिय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
नदी सडकबाट बगेपछि गुलरिया–नेपालगञ्ज सडक खण्ड अवरुद्ध भएको छ । सडकमा पानी बढ्दै गएकाले सवारी साधनलगायतका आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाको भनाइ छ ।
नदीले बालापुर क्षेत्रमा केही कटान गरेको छ । सूर्यगौडी खल्लाका पीडितहरु हुलाकी सडकमा पाल टाँगेर सुरक्षित आश्रय लिइरहेका छन् । बाढीको जोखिमबाट सुरक्षा दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई तयारी अवस्थामा रहेका छन् ।
बन्दोबस्ती तथा सुरक्षा संयन्त्रसहित ३ वटा मोटर बोट, डुँगा, डारी लगायत सुरक्षाकर्मी सहितको उद्धार टोली तयारी अवस्थामा छन् । कटान क्षेत्रमा तत्काल नियन्त्रणका लागि बोराहरु पनि तयारी अवस्थामा राखिएका छन्।
बबई नदीको मुहान क्षेत्रका जिल्लामा वर्षा नरोकिएकाले बाढीको थप जोखिम कायमै रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोवास गरेका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।
बबई नदीको चेपांग जलमापन केन्द्रमा बिहीबार बेलुकी पानीको सतह ६ दशमलव ८६ मिटर मापन गरिएको हाइड्रोलोजीमा जनाइएको छ । बबईको चेपांगमा ५ दशमलव ५० मिटर चेतावनी तह मानिन्छ । ६ दशमलव १० मिटर पानीको सतहलाई खतराको तह मानिन्छ ।

