आउँदो निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन प्रहरीलाई गृहसचिवको निर्देशन


काठमाडौं – गृहसचिव विनोद प्रकाश सिंहले आज बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गगरेका छन् । निरीक्षण भ्रमणका क्रममा गृह सचिवले प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए।

निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई संगठनको हीत र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताउँदै संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील हुन आग्रह गरे ।

आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । गृहसचिव सिंहले प्रहरी कर्मचारीहरुले उच्चआचरण एवम् ईमानदारिपूर्वक सांगठनिक प्रतिवद्धतामा अविचलित भई जिम्मेवारी वहन गर्न निर्देशन दिँदै नेपाल प्रहरी संगठनको सुदृढिकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको बताए ।

नेपाल सरकारबाट हुने निर्णयहरू र गर्नुपर्ने सहजीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि सरूवा, बढुवा र वृत्ति विकास जस्ता विषयलाई स्वच्छ, निष्पक्ष, पूर्वानुमान योग्य बनाउन जरूरी रहेको उनले बताए।

गृहसचिव सिंहले प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, समाजमा शान्ति स्थापना र मानव अधिकार संरक्षणमा प्रतिवद्ध रहनु र राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरीको मर्म अनुसार सीमित स्रोत साधनको वावजूद पनि प्रहरी संगठनले अहोरात्र निभाएको भूमिकाको प्रशंसा गर्दै सत्य सेवा सुरक्षणम्‍को मूल नारा सहित प्रहरी संगठनले आफ्नो विशिष्ट योगदान इतिहासका हरेक कालखण्डमा स्थापित गर्दै आएकोमा नेपाल प्रहरीमा आवद्ध सबै कर्मचारीको लागि गौरवको विषय भएको उल्लेख गरे । इतिहासको हरेक असजिलो अवस्थामा पनि आफूलाई संयमित राखेर राष्ट्रको सेवा र जनताको सुरक्षामा नेपाल प्रहरीले खेलेको भूमिका अत्यन्तै सराहनीय रहेको उनले उल्लेख गरे।

गृहसचिव सिंहले हरेक विपद्को घटनादेखि लिएर समाजमा हुने विभिन्न क्रियाकलापमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही भूमिका निर्वाह गरेको चर्चा गर्दै प्रहरीको क्रियाकलापहरू सहजीकरण एवम् अपराध अनुसन्धान नियन्त्रण तथा रोकथाममा समाज र नागरिकको सहयोग आवश्यक रहेकोले नागरिकसँगको प्रहरी सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिए ।

विज्ञान र प्रविधिको तीव्र विकाससँगै अपराधका नयाँ नयाँ प्रवृत्ति र शैलीप्रति नेपाल प्रहरी चनाखो रहेको उल्लेख गर्दै प्रहरी संगठनको सुधारका कार्यहरूलाई अगाडि बढाएर प्रहरीको संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रदान गर्न विशेष आग्रह गरे । आउँदो निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित तवरले सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी जिम्मेवारी वहन गर्न अग्रह गर्दै नजिकिँदै गरेको चाडपर्वमा समेत आवश्यक अनुगमन तथा कारवाही प्रकृयालाई अगाडि बढाउन सक्रिय हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहसचिव प्राप्त अत्यन्तै महत्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी वहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गरे ।

प्रतिक्रिया