

अवैध सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडाैं – दुबईबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जनालाई पक्राउ गरेको छ ।
विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका-७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन् ।
हिमालय एयरलाइन्सको उडानबाट आज दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट भन्सार छली ल्याएको एक/एक थान सुनको सिक्री र एकरएक थान औँठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिए।

