केबिसिएफ र वर्ल्डलिंकको संयुक्त पहलमा कर्णालीमा इन्टरनेट


काठमाडौं – कर्णाली बेसिन संरक्षण फाउन्डेसन (केबिसिएफ) र  वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहकार्यमा कर्णालीमा इन्टरनेट सेवा विस्तार गरिएको छ ।

जैविक विविधता संरक्षण र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने गैरनाफामूलक संस्था केबिसिएफ र नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा दिने कम्पनी वर्डलिंकद्वारा कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकास गर्न डिजिटल इन्टरनेट सेवाको योजना शनिबारबाट विस्तार गरिएको हो ।

कोभिड–१९ महामारीले विद्यालय, व्यापारलगायत अनलाइनको महत्व बढेसँगै दुर्गम र ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा इन्टरनेट सेवाहरू जोडिएका र नजोडिएका बीचको ठूलो भिन्नतालाई हटाई जैविक विविधताको संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिजमलाई बढुवा दिन डिजिटल कर्णाली योजनाले मद्दत पुर्याउने वर्ल्डलिंकले जनाएको छ ।

केबिसिएफका अध्यक्ष राधेश पन्तले साझेदारीको महत्वमाथि जोड दिँदै भने, ‘यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासका लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ । यस सम्बन्धमा डिजिटल अर्थतन्त्रका लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रलाई विकास प्रक्रियामा अगाडि बढ्नका लागि सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो ।’

यसैगरी वर्ल्डलिंकका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले भने, ‘हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, सामुदायिक समूह र व्यक्तिहरूका लागि इन्टरनेटको पहुँच पुर्याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्नेछौ“ । ‘सबैका लागि, जहाँ पनि जति बेला पनि जोडने’ हाम्रो संस्थाको मूल्य र मान्यतासँग पूर्णरुपले मेल खाएको हुँदा उक्त कार्यक्रमलाई पूर्ण रुपमा सघाउने छाैं ।’

वर्ल्डलिंकका अनुसार रोजगारी सिर्जना र स्थानीय उद्यमी एवं मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा दुवै पक्षले गरेका छन् । दुवै कम्पनीले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्ने प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त रणनीतिक साझेदारीले व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै र समृद्धिलाई बढाउन प्रेरणा दिँदै एकसाथ अवसरहरू प्रदान गर्ने वर्ल्डलिंक जनाएको छ ।

प्रतिक्रिया