

तीन जना ट्राफिक प्रहरी निलम्बन

काठमाडौं – सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले कारवाही गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्णसिंह रश्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरिएका प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।
प्रहरीको आन्तरिक शुद्धीकरण अभियानअन्तर्गत प्रहरी कर्मचारीलाई निलम्बन गरिएको उनले जानकारी दिइन। निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई गत माघ ६ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरीले सम्बन्धित स्थानमा स्थलगत रुपमा खटिइ गएका प्रहरी अधिकृतको टोलीले डिउटीमा खटिएको अवस्थामा यातायात व्यवसायीका दलालमार्फत भरतपुर महानगरपालिका–१ पुल्चोकस्थित कालीगण्डकी कोल्ड स्टोर (पान पसल)बाट अवैध रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

