बेपत्ता विद्यार्थीको म्यासेज : अज्ञात स्थानमा राखिएको छ


बुटवल- रुपन्देहीको बुटवलमा घरबाट विद्यालय जान हिँडेका तीन विद्यार्थी शुक्रबारदेखि बेपत्ता भएका छन्। उनीहरुलाई आजसम्म पनि सम्पर्कमा ल्याउन सकिएको छैन।

परिवारका अनुसार बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गएका थिए। तर, विद्यालयमा हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन्।

नवीन औद्योगिक मावि कक्षा–९ मा पढ्ने दुई र नहरपुर मावि कक्षा–८ मा अध्ययनरत एकजना सँगै घरबाट निस्केको र सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

सागरका मामा राजु पन्थीले झोला बोकेर विद्यालय गए पनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए।

परिवारका अनुसार बेपत्तामध्ये समीरले शनिबार दिउँसो करिब २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञातस्थलमा राखिएको जानकारी गराएका थिए।उनले आफूहरूलाई अचेत बनाएर ल्याएको र २ बजेमात्र होस खुलेको म्यासेजमा लेखे पनि त्यसपछि कुनै सम्पर्क भएको छैन।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले परिवारको निवेदनानुसार सबैतिर खोजबिन गरिएको बताए । खोजबिन जारी रहे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन्।

प्रतिक्रिया