

हिमानी ट्रष्टद्वारा गोरखाका ३८ सय विद्यार्थीलाई शैक्षिक सामाग्री सहयाेग

गोरखा- हिमानी ट्रष्टद्धारा गोरखाका करिब ३ हजार ८ सय विधार्थीलाई शैक्षिक तथा स्वास्थ्य र सरसफाईका सामाग्रीहरु सहयाेग गरेको छ। गोरखा सदरमुकामको श्री शक्ति माध्यमिक विधालयमा शनिबार एक कार्यक्रमकाे आयोजना गरी ट्रष्टले गोरखाका पाँच स्थानीयका ४० सामुदायिक विधालयमा अध्ययनरत ३ हजार ७ सय ७३ जना बिद्यार्थीहरुलाई १९ प्रकारका सामाग्रीले भरिएको झोला वितरण गरेको हो । जसमा १ हजार ८ सय १० जना छात्र र १ हजार ९ सय ६३ जना छात्राले साे सामाग्री प्राप्त गरेका हुन् ।
जसमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, शहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिका र धार्चे गाउँपालिकाका ४० विधालयलाई ट्रष्टले झोलासहित विभिन्न शैक्षिक र सरसफाई साथै स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेकाे जनाएकाे छ ।
कार्यक्रममा ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्वयूवराज्ञी हिमानी शाह र उनकी छोरी कृतिका शाहले साे सामाग्री हस्तान्तरण गरेका हुन् ।
चाइना फाउण्डेनकाे सहयाेगमा ट्रष्टले बालकक्षादेखि कक्षा ५ सम्मका सम्पूर्ण विधार्थीलाई सामग्री सहयाेग गरेकाे जनाएकाे छ । ६ महिनाअघि विधालय छनाैट गरेर विभिन्न प्रकृया पूरा गरेपछि हाल सामाग्री सहयाेग गरिएकाे हिमानी ट्रष्टले बताएकाे छ।
पहिलाे चरणमा गोरखामा करिब ३ हजार ८ सय विधार्थीलाई १९ प्रकारका सामाग्री प्रदान गरेकाे ट्रष्टले आगामी दिनमा समेत सहयाेगकाे क्रम जारी राख्ने जनाएकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै ट्रष्टकी अध्यक्ष शाहले पछिल्लाे समय देशमा बेराेजगारी र युवाहरु विदेशीने क्रम बढेकाले आगामी दिनमा त्यसलाई राेक्न अभिभावकले शैक्षिक क्षेत्रमा लगानी बढाउनु पर्ने समय आएकाे बताइन् ।
‘अब कहिलेसम्म अर्काकाे देशमा गएर हाम्रा देशका युवाले पसिना बगाउने’ प्रश्न गर्दै शाहले भनिन ‘अब हामी जागरुक हुने भएर चेतनाकाे स्तर बढाउनु पर्ने बेला आएकाे छ ।’
जागरुक समाज उज्वल भविश्यकाे मुल मन्त्र लिएर हिमानी ट्रष्टले स्थापनाकालदेखि नै देशभर बिभिन्न क्षेत्रमा सहयाेग अभियान सञ्चालन गर्दै आइरहेकाे जानकारी दिदै अध्यक्ष शाहले आगामी दिनमा समेत यस कार्यले निरन्तरता पाउने बताएकी छिन् ।
कार्यक्रममा चाइना फाउण्डेशनका प्रतिनिधी कवित कुमार नेपालीले वितरण गरिएका सामाग्रीकाे सदुपयाेगका विधीसहित नमुना प्रदर्शन गरेका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्त, शिक्षा विकास तथा समन्वय इकाई गोरखा प्रमुख विष्णु प्रसाद भट्टराईले समेत बाेलेका थिए ।
कार्यक्रममा ४० वटै विधालयबाट विधार्थी प्रतिनिधी र शिक्षकहरुकाे उपस्थिती रहेकाे थियाे ।

