कांग्रेसका यी दर्जन नेतृ जो प्रत्यक्षमा उम्मेदवार बन्न हिम्मत गर्दैछन्

केन्द्रमा ५३ महिला तर धेरैको ‘टार्गेट’ समानुपातिकमा


काठमाडौं – नेपाली कांग्रेसको एक सय ५८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिला नेतृको सङ्ख्या ५३ रहेको छ । तर, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार उठ्ने हिम्मत भने दर्जन नेतृले मात्र गरेका छन् ।

मुलुकको पुरानो र जनमतको हिसावले ठूलो पार्टी कांग्रेसमा प्रत्यक्षतर्फ प्रतिष्पर्धा गरेर चुनाव जित्ने आत्मविश्वास भएका नेतृ न्यून हुँदा संविधानले व्यवस्था गरे बमोजिम ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराउन उनीहरुलाई समानुपातिकको कोटामा अवसर दिन पार्टी नेतृत्व वाध्य छ ।

कांग्रेस नेतृत्वको सरकारले २०१६ सालमा पहिलो पटक मन्त्रिपरिषदमा महिला सांसद द्वारिकादेवी ठकुराठीलाई राखेको थियो भने २०५२ पछि पार्टी उपसभापति र सरकारको उपप्रधानमन्त्री बनाएको थियो । पार्टीको अहिलेको नेतृत्वमा उपप्रधानमन्त्री भइसकेकी सुजाता कोइराला र उपसभामुख भएकी चित्रलेखा यादव पनि छन् ।

कांग्रेस नेतृत्वमाथि पार्टीका महिला नेतृहरु, महिला विभाग र नेपाल महिला संघको तर्फबाट समेत महिलालाई पार्टी र राज्यका हरेक तह र अङ्गमा न्युनतम ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत प्रतिनिधित्व गराउन दबाब आउने गर्छ । तर प्रतिष्पर्धाबाट नेतृत्वमा पुग्न मैदानमा उत्रने भने सितिमिति हिम्मत गरेको पाइँदैन ।

खुल्ला प्रतिष्पर्धामा उत्रन हिम्मत गर्ने कतिपय महिला नेतृलाई भने अवरोध गर्ने र अवसर दिने गरिएको छैन । कतिपय निर्वाचन क्षेत्रमा पार्टी भित्रकै पुरुष नेता प्रतिष्पर्धी देखाएर त कतिपय क्षेत्रमा सत्तारुढ गठबन्धनसँगको तालमेल गर्दा माओबादी, नेकपा एस, जसपा र राजमोलाई छाड्नु पर्ने कारण देखाएर अवसरबाट बञ्चित गराइन्छ ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर २ बाट प्रतिनिधि सभाको लागिप्रत्यक्षमा उम्मेदवारी दिने योजनामा छिन् तर पार्टीले सत्तारुढ दलहरुसँग तालमेल गर्ने नाममा नेकपा एसका बिरोध खतिवडालाई समर्थन गर्नु पर्ने दबाब दिइरहेको छ ।

उपसभामुख तथा कांग्रेस नेतृ पुष्पा भुषाल गौतम अर्घाखाँचीबाट प्रतिनिधि सभामा प्रत्यक्षमा उम्मेदवार बन्न चाहेकी छन् । उनको क्षेत्रमा गठबन्धन दल राष्ट्रिय जनमोर्चाले दाबी गर्न सक्ने सभ्भावित क्षेत्र पनि हो ।

पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला मोरङको निर्वाचन क्षेत्र नम्वर २ बाट प्रत्यक्षमा उम्मेदवार बन्न चाहन्छिन् । तर सो क्षेत्रमा यसअघि २०७४ को संघीय संसदको निर्वाचनमा विजयी सांसद डा. मिनेन्द्रप्रसाद रिजालले आफ्नो दाबी गरेका छन् । उनले सो क्षेत्रमा बलियो पकड जमाएका कारण कोइरालाले टिकट पाउने सम्भावना कम छ ।

पूर्वउपसभामुख तथा कांग्रेसकी पूर्वकोषाध्यक्ष चीत्रलेखा यादवले सिरहाको क्षेत्र नम्वर २ बाट उम्मेदवारीको दाबी गरेका छन्, तर तालमेल गर्दा माओबादीका सुरेश चन्द्र दास निर्वाचित भएकाले नेतृ यादवले प्रत्यक्षमा प्रतिष्पर्धा गर्ने योजनाबाट पछि हट्नु पर्ने सम्भावना देखिन्छ ।

झापा क्षेत्र नम्वर २ बाट केन्द्रीय सदस्य सरिता प्रसाईँ प्रत्यक्षमा उम्मेदवार बन्न चाहन्छिन् तर विगत २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएदेखि राजनीतिमा सक्रिय केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीदेखि पूर्वसांसद सुधिरकुमार शिवाकोटीसम्मले दाबी गरेपछि प्रसाइँको प्रतिष्पर्धामा उत्रने चाहनामा कुठाराघात हुने आशंका देखिन्छ ।

कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट संघीय संसदमा प्रतिष्पर्धाको लागि दाबी गरेकी छन् तर सो जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित नेकपा एसका सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई तालमेलका कारण छाड्नु पर्ने हो कि भन्ने सम्भावना पनि रहेको छ ।

नेपाल महिला संघकी पूर्वअध्यक्ष अम्बिका बस्नेतले काठमाडौ ३ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षमा प्रतिष्पर्धा गर्ने चाहना राख्नु भएको छ । उहाँलाई पार्टी भित्र र गठबन्धनबाट भने त्यति चुनौति देखिँदैन ।

जुझारु र क्रियाशिल केन्द्रीय सदस्य लक्ष्मी खतिवडाको नाम सुनसरी क्षेत्र नम्वर १ बाट सिफारिस भएको छ । स्वच्छ र लोकप्रीय छवि बनाएकी खतिवडाले नेविसंघ, तरुण दल र महिला संघको नेतृत्वमा बसेर काम गरिसकेकोले उनलाई टिकट दिनु पर्ने दबाब र सुझाव क्षेत्र, जिल्लादेखि केन्द्रसम्म बाट आएको छ ।

नेतृ खतिवडालाई पनि पार्टीका केन्द्रीय सदस्य मिन विश्वकर्माले समेत प्रत्यक्षमा चाहना गरेको र जसपाका बरिष्ठ नेता असोक राईले अघिल्लो निर्वाचनमा समेत कांग्रेसको समर्थनमा उम्मेदवार बनेकाले पुनः चाहना राखे भने खतिवडाको प्रतिष्पर्धा गर्ने चाहनामा ब्रेक लाग्न सक्छ ।

मुख्य मन्त्री बन्न सुझाव र दबाब

महिला संघकी पूर्वअध्यक्ष डा. डिला संग्रौला पन्त मोरङको क्षेत्र नम्वर ६ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पार्टीबाट उम्मेदवार बन्न चाहन्छिन् । तर उनको यो क्षेत्र कांग्रेसका हेबीवेट नेता डा. शेखर कोइरालाले राजनीति गर्दै आएको क्षेत्र हो ।

त्यसैले पनि सो क्षेत्रबाट प्रतिनिधि सभामा चाहना गर्नु भन्दा प्रदेश सभा सदस्यमा उम्मेदवार बनेर प्रदेशको मुख्यमन्त्री बनाउनु पर्ने सुझाव र दबाब पार्टी बाटै आएको एक केन्द्रीय सदस्यले बताइन । क्षमता, योग्यता र क्रियाशिलता भएकी संग्रौलाको भूमिका सदन, पार्टी र महिला संघको नेतृत्वमा समेत देखिएको पार्टी नेताहरु बताउँछन् ।

पार्टीकी पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसभासद किरण यादव महोत्तरी क्षेत्र नम्वर २ बाट प्रतिष्पर्धाको योजनामा छिन् । तर सत्तारुढ गठबन्धमा आबद्ध नभए पनि तालमेलको लागि इच्छुक रहेका लोकतान्त्रिक समाजबादी पार्टीका नेता शरतसिंह भण्डारीले उनको क्षेत्र खोस्न सक्छन् ।

केन्द्रीय सदस्य तथा जुम्लाको चन्दननाथ नगरकी पूर्वप्रमुख कान्तिका सेजवालले जुम्लाबाट प्रत्यक्षमा उठ्ने चाहना गरेकी छन् तर जुम्लाबाट गत आमनिर्वाचनमा माओबादी केन्द्रका गजेन्द्रबहादुर हमाल विजयी भएकाले यो पटक सत्ता गठबन्धनको तालमेलका कारण सेजुवालले अवसर पाउने पाउने सम्भावना कम छ ।

झापा क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उठ्ने चाहना गरेकी सांसद महेन्द्र लिम्बुको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट एमालेका अध्यक्ष केपी शर्मा ओली उठ्ने भएकाले कांग्रेसका युवा नेता मेदनी सिटौला, ओलीलाई माओबादीका तर्फबाट २०६४ मा पराजित गर्ने विश्वदीप लिङदेन जस्ता नेताले चाहना गरेकाले लिम्बुको चान्स न्युन छ ।

केन्द्रीय सदस्य सरस्वती तिवारी स्याङजाबाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार बन्ने चाहना गरे पनि २ वटा मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठदेखि जिल्ला सभापति राजु थापासम्मको उम्मेदवार हुने दाबीले तिवारीको चाहना पुरा हुने सम्भावना देखिँदैन ।

केन्द्रीय सदस्य नानु बास्तोलाले काठमाडौं क्षेत्र नम्वर ९ बाट प्रत्यक्षमा चाहना गरे पनि उनको सम्भावना कम रहेको स्थानीय बताउँछन् ।

तरुण दलकी नेतृ तथा बागमति प्रदेश सदस्य राधा घले काठमाडौं क्षेत्र नम्वर ४बाट, ललितपुर महानगरकी पूर्वउपप्रमुख गीता सत्याल ललितपुरबाट नेपालगञ्ज उपमहानगरकी पूर्वउपप्रमुख उमा थापामगर बाँकेबाट नेतृ विन्दिया कार्की मोरङबाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार हुने चाहना राखेका छन् ।

यी नेतृ जसले समानुपातिकको लक्ष्य लिए

प्रतिनिधि सभाकी सदस्य समेत रहेकी केन्द्रीय सदस्य धनुषाकी मिनक्षी झा र सुजाता परियार, केन्द्रीय सदस्य सिन्धुलीकी सुशिला थिङ, दाङकी सांसद समेत रहेकी पार्बता डीसी चौधरी तथा पूर्वसांसद सुशीला चौधरीले प्रत्यक्षमा तालमेल हुँदा नेकपा एसका सांसद तथा शहरी विकास मन्त्री मेटमणि चौधरीले दाबी गर्ने भएपछि समानुपातिमा चाहना गरेका हुन् ।

केन्द्रीय सदस्य नवलपरासी पूर्वकी सीता देवकोटा, झापाकी सुशिला ढकाल, सांसद समेत रहेकी उदयपुरकी लक्ष्मी परियार, काठमाडौंकी कल्याणी रिजाल, प्रतिमा गौतम, मोरङकी रुक्मिणी कोइराला, ललितपुरकी उर्मिला नेपाल केसी, धना खतिवडा, झापाकी गोमा भट्टराई, भक्तपुरकी गंगालक्ष्मी अवाल र रमा पौडेलले समेत समानुपातिकमा चाहना गरेका छन् ।

हुम्लाकी सांसद रंगमति शाहीले हुम्लामा माओबादी केन्द्रका छक्कबहादुर लामालाई छाड्नु पर्ने देखिए पछि समानुपातिक रोज्न बाध्य छिन् । यस्तै, सुनसरीकी सुशिला चौधरी, दाङकी शिला शर्मा, कैलालीकी सुशिला भट्ट, धनुषाकी मुक्ताकुमारी यादव, खोटाङकी सरस्वती बजिमय, बागलुङकी चम्पादेवी खड्का, गृहमन्त्री पत्नी मञ्जु खाँण, महोत्तरीकी नागिना यादव र मञ्जुकुमारी यादवले समानुपातिक नै रोजेका छन् ।

बर्दियाकी जावेदा खातुन जागा, सुर्खेतकी जानकी सिंह, भोजपुरकी माया राई, दैलेखकी सीताकुमारी राना, कपिलबस्तुकी रुपा बिक, चितवनकी शान्ति परियार, कैलालीकी इश्वरी न्यौपाने र जीवन राना र धादिङकी उर्मिला थपलियाले प्रतिनिधि सभामा उम्मेदवार बन्न नचाहेर समानुपातिक नै रोजेका छन् ।

प्रतिक्रिया