एसलाई पुलपुल्याउने देउवाको प्रस्तावले गठबन्धनभित्र तालमेलमा झमेला


काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन दलबीच आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश संसदको निर्वाचनमा पाँच दलबीच सिट बाँडफाँट गरेर जाँदा नेकपा एसलाई हैसियतभन्दा बढी सिट दिनु पर्ने प्रस्तावले तामेलमा उल्झन र झमेला आइलागेको छ ।

सत्तारुढ दलहरुबीच चुनावमा तालमेल र सहकार्य गरेर अघि बढ्ने निर्णय भएको एक महिना पुगीसकेको छ । तर प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ र प्रदेश सभाको तीन सय ३० सिटमा पाँच दलमध्ये कुन दललाई कति सिटमा सहमति गर्ने भन्ने टुंगो लागेको छैन ।

नेकपा माओबादीले ६० सिट, नेकपा एस र जनता समाजबादी पार्टीले ३५–३५ सिट र राष्ट्रिय जनमोर्चाले पाँच सिटसम्म दाबी गर्दै सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेससँग बार्गेनिङ गर्न थालेपछि पाँच दलिय सहमतिको प्रयास एक महिनादेखि बिना निष्कर्ष स्थगित हुँदै आएको छ ।

पाँच दलका शीर्ष नेताले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेर सिट वाँडफाँट गर्दा गठबन्धन दलको तर्फबाट हाल संसदमा प्रत्यक्षतर्फ बिजयी भएका सांसदको संङ्ख्या, गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलले पाएको मत प्रतिशत तथा लोकप्रीयता र सम्भावनालाई आधार मान्ने सहमति भएको थियो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुले ५६ दशमलव दुई प्रतिशत मत ल्याएका थिए । जसमा कांग्रेसले ३४.२ प्रतिशत, माओबादी केन्द्रले १३ प्रतिशत, जनता समाजबादीले ६.५ प्रतिशत, नेकपा एसले ३.६६ प्रतिशत र राजमोले शुन्य दशमलव ३५ प्रतिशत मत ल्याएका थिए ।

तर जम्मा ३ दशमलव ६६ प्रतिशत जनमत पाएको नेकपा एसको सत्तारुढ गठबन्धन भित्र ६ दशमलव ५ प्रतिशत अर्थात ११ सिट पाउने मात्र हैसियत छ ।

सोही बमोजिम कार्यदल संयोजक सिटौलाले पेश गरेको प्रस्तावमा गठबन्ध भित्रको ठूलो दल कांग्रेसको ९९ सिट दाबी गर्ने हैसियत भए पनि गठबन्धन भित्रका अन्य चार दललाई खुसी पार्न कांग्रेस ८७ देखि ९० सिटमा झर्न सक्ने प्रस्ताव गरेका थिए ।

स्रोतका अनुसार सिटौलाले गठबन्धन भित्रको दोश्रो ठूलो दल नेकपा माओबादी केन्द्रलाई उसले स्थनीय तहमा पाएको मतको आधारमा ३८ सिटको हैसियत भए पनि प्रतिनिधिसभाको प्रत्यक्षमा ४५ देखि ४७ सिट, जनता समाजबादीलाई १५ देखि १६ सिट, नेकपा एसलाई १३ देखि १४ सिट र राष्ट्रिय जनमोर्चालाई एक सिट दिन सकिने प्रस्ताव गरेका थिए ।

सिटौलाको सो प्रस्तावलाई कार्यदलमा रहेका सदस्यहरुले स्वीकार नगरे पनि आपत्ति भने जनाएका छैनन् । स्रोतका अनुसार सहमतिको अन्तिम खाका तयार गरी शीर्ष नेतालाई बुझाएका सिटौला कोरोना संक्रमण भएपछि रोकिएको कार्यदलको बैठक सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।

तर बैठकले खास निष्कर्ष वा परिणाम दिन सकेको छैन । अन्तिम खाका तयार पारेका सिटौलाले सिट वाँडफाँट गरी सभापति देउवासमक्ष पेश गरेको सहमतिको प्रस्तावका मस्यौदाप्रति नै देउवाले असन्तुष्टी जनाएका थिए । उनले बर्तमान सरकार बनाउन, नेकपा र नेकपा एमाले दल फुटाउन माधव नेपालको भूमिका महत्वपूर्ण रहेको भन्दै नेपाल नेतृत्वको नेकपा एसलाई प्रत्यक्ष तर्फ थप सिट दिन आग्रह गरेका थिए ।

नेकपा एसको खास हैसियत नै ११ सिट भएको जनाउँदै सिटौलाले सभापतिबाट नेकपा एसले प्रतिनिधिसभा तर्फ पाउनु पर्ने सिटको संङ्ख्या यकिन गर्न आग्रह गरे । तर देउवाले शुक्रबार विबहानसम्म पनि त्यस्तो प्रस्ताव नल्याएपछि देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिटौला झापा गएका थिए ।

नेकपा एसलाई झण्डै १८ सिट दिनु पर्ने देउवाको प्रस्तावबाट झस्किएका सिटौलाले ८७ सिटभन्दा कममा कांग्रेसले तालमेल गर्ने  सहमति गरे कांग्रेस कार्यकर्ता असन्तुष्ट हुने तथा माओबादी र जनता समाजबादीको सिट काट्न नमिल्ने जनाएका थिए । स्रोतका अनुसार देउवाले कांग्रेस र गठबन्धन दललाई कुन निर्वाचन क्षेत्र र कतिवटा सिट दिने भन्ने विषयमा केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको सहमति पर्खदा गठबन्धनमा सिट सख्याको सहमति जुट्न ढिलाई गरेको कांग्रेसकै नेताहरु बताउँछ ।

प्रतिक्रिया