बाजुरा जिप दुर्घटना अपडेट : टेलिकमका प्रमुखसहित मृत्यु भएका तीनै जनाको सनाखत


बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले जानकारी दिएका छन् ।

जिपमा सवार अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार जिप टोलीसहित टेलिकमको टावर मर्मतका लागि सदरमुकामबाट जगन्नाथ गाउँपालिकातर्फ जाँदै गर्दा काँडाकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया