

‘काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति चिन्ताजनक भएको भन्दै संयमित हुन आग्रह गरेको छ। सोमबार आयोगले विज्ञप्तिमा जारी गर्दै नेपालको संविधान र कानूनले शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न निषेध नगरेको भए पनि अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी गरिएको अभिव्यक्ति मानव अधिकारको मूल्यमान्यतासँग मेल नखाने भएकाले चिन्ताजनक रहेको जनाएकाे छ।
आयोगले जेठ १५ गतेदेखि हुने राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिको आन्दोलनअनुगमन गरिदिन अनुरोध आएको विषयलाई लिएर प्रधानमन्त्री ओलीले ‘काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिनु भनेको गम्भीर विषय भएको बताएको छ। आयोगको भनाइमा, लोकतान्त्रिक मुलुकमा कुनै पार्टी विशेषले कुनै क्षेत्र कब्जा गर्नु विधिको शासन विपरित र निषेधलाई प्रश्रय दिनु हो।
विज्ञप्तिमा आयोगले जिम्मेवार व्यक्तिहरूलाई आफ्ना अभिव्यक्ति दिन संयमित हुन र नकारात्मक टिप्पणीबाट बच्न आग्रह गरेको छ। साथै, सुरक्षा निकायलाई राजधानी लगायतका क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन र सबै पक्षलाई विरोध प्रदर्शन शान्तिपूर्ण बनाउने जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ।
आयोगले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सरकारका सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै, सबै पक्षलाई संवेदनशील भएर अघि बढ्न अनुरोध गरेको छ।

