जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो


बाजुरा- बाजुराको जगन्नाथमा भएको जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । दुर्घटनामा घाइते बुढीनन्दा नगरपालिका–२, का लोकेन्द्र तिरुवा र नन्दराम तिरुवालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार हुने छ । घाइतेको उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बाजुरा पुगेको हो । जगन्नाथ गाउँपालिका–२, काडाकोटमा आज भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।

दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, जिप चालक करनसिंह महतरा र जीपमा सवार बडीमालिका नगरपालिका–७, का रविन्द्र धामीको मृत्यु भएको छ। खड्कासहितको टोली जगन्नाथस्थित नेपाल टेलिकमको टावरमा ब्याट्री फेर्न गइरहेको थियो ।

प्रतिक्रिया