प्रधानमन्त्रीको भाषा मुठभेटतर्फ, कांग्रेस मौन देख्दा कोइरालाको चिन्ता


विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठक आफ्नो चर्चा गर्नमै सीमित भएकोमा अचम्म लागेको बताएका छन्।

विराटनगरमा आयोजित नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले देशका ज्वलन्त मुद्दाहरू छलफल हुने अपेक्षा गरे पनि आफूलाई केन्द्र बनाएर मात्र बैठक चलेको थाहा पाउँदा आश्चर्य लागेको बताए।

“सभापतिजीको घरमा बसेको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति र राजनीतिक वातावरणबारे छलफल होला भन्ने लागेको थियो। तर थाहा भयो, कुरा त मेरैबारे मात्रै भएको रहेछ,” कोइरालाको भनाइ थियो।

उनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई गैर-राजनीतिक र मुठभेट उन्मुख भन्दै कांग्रेस नेतृत्व मौन बसेकोमा गहिरो असन्तुष्टि जनाए। “प्रधानमन्त्री केवल व्यक्ति मात्र होइन, त्यो संस्था हो। त्यसैले त्यो पदमा बसेर बोलेका हरेक शब्दको अर्थ हुन्छ,” उनले भने।

कोइरालाले कांग्रेसले सैद्धान्तिक मौलिकता गुमाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले आइतबार विराटनगरमै गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसमेत गरेका थिए।

यही मागलाई लिएर सोमबार बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पूर्वमहामन्त्री शशांक कोइरालालगायतले डा. शेखर, सुनील शर्मा र राजेन्द्र बजगाईंमाथि कारबाहीको प्रस्ताव समेत अघि सारेका थिए।

प्रतिक्रिया