इच्छाराज तामाङसहित श्रीमती र छोरीहरूविरुद्ध साढे ४ अर्बको मुद्दा दायर


काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङको परिवारविरुद्ध चार अर्ब ४३ करोड ५१ लाख बढी बिगो दाबी गरेको विशेष अदालतमा अभियोगपत्रमा दायर गरेको छ।

बिहीबार दायर गरिएको मुद्दामा प्रतिवादीहरू तामाङ र केशवलाल श्रेष्ठले सम्पत्तिको स्रोत लुकाउन आफ्ना परिवारका सदस्यहरूबीच अंशबन्डा गराएको उल्लेख गरिएको छ।

‘गैरकानुनी स्रोतको रकम लगानी गरी त्यस्ता व्यावसायिक कार्यहरूबाट थप सम्पत्ति आर्जन गरी अन्य प्रतिवादीहरू सिर्जना शाक्य (तामाङ), प्रतिष्ठा तामाङ, प्रतिक्षा तामाङ र मिना कुमारी श्रेष्ठसमेतका नाउँबाट कारोबार गर्ने एवं सम्पत्तिहरू लुकाई छिपाई राखी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आयो,’ अभियोगपत्रमा भनिएको छ।

सहकारी सञ्चालक तामाङविरुद्ध तीन अर्ब ३१ करोड बढीको गैरकानुनी सम्पत्ति तथा ठगीसम्बन्धी अभियोगपत्र दायर गरेको छ। तामाङले तीन अर्ब ३१ करोड ८५ लाख रुपैयाँ सम्पत्ति गैरकानुनी ढंगले आर्जन गरेको अभियोगमा सोही बराबर बिगो दाबी गरी मुद्दा दायर गरिएको छ।

उनकी श्रीमती सिर्जना शाक्यविरुद्ध एक अर्ब तीन करोड रुपैयाँ बिगो दाबी गरिएको छ। छोरीहरू प्रतिक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिशाविरुद्ध एक करोड ८९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

तामाङ परिवारका सदस्यविरुद्धको कुल बिगो रकम चार अर्ब ४३ करोड ५१ लाख हुन आउँछ। सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ विरुद्ध २६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। उनीहरूविरुद्ध पाँच अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो।

 

प्रतिक्रिया