पर्वतमा लागुऔषधसहित एकजना पक्राउ


पर्वत – पर्वतमा लागुऔषधसहित एकजना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतले बताए।

उनका अनुसार गत भदौ १५ गते राति करिब ८ बजे कुश्मा नगरपालिका-७ राम मन्दिर नजिकैबाट कास्कीको पोखरा महानगरपालिका-७ घारिपाटनमा डेरा गरी बस्दै आएकी १९ वर्षीया आफ्रिन खान पक्राउ परेकी हुन्।

उनको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो रङ्गको धुलो पदार्थ ६ ग्राम ९३० मिलिग्राम फेला परेपछि प्रहरीले खानलाई नियन्त्रणमा नै राखेर बरामद भएको पदार्थको अनुसन्धान गरेको थियो। उनीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। डाइजापाम, नुर्फिन, फेनेरागनसहित अरू ४ जनालाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ।

प्रहरी निरीक्षक राउतका अनुसार मोदी गाउँपालिका-५ घर भई हाल मोदी गाउँपालिका-२ पातीचौरमा डेरा गरी बस्दै आएका २६ वर्षीय सचिन सार्की, तनहुँको शुक्लागण्डकी नगरपालिका-१ दुलेगौँडा स्थायी घर भई हाल जिल्ला पर्वतको मोदी गाउँपालिका-२ पातीचौरमा बस्दै आएका अजय पुन, मोदी गाउँपालिका-४ क्याङका २५ वर्षिय दिनेश गर्बुजा र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ घर भई हाल पातीचौरमा डेरा गरी बस्ने २९ वर्षिय विजय पुनलाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट नुर्फिन १ सय २४ एम्पुल, डाइजेपाम १ सय २२ एम्पुल र फेनेरगन १ सय २५ एम्पुल गरी कुल ३ सय ७१ एम्पुल लागुऔषध बरामद भएको छ। उनीहरूका विरुद्ध लागुऔषधसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया