

फरार बलात्कार आरोपी तीन वर्षपछि पक्राउ

संखुवासभा- संखुवासभा प्रहरीले जवरजस्ती करणीमा संलग्न फरार अभयुक्तलाई तीन वर्षपछि पक्राउ गरेको छ। जवरजस्ती करणी उद्योगका फरार अभियुक्त पाँचखपन नगरपालिका-१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई तीन वर्षपछि पक्राउ गरेको हो।
अभियुक्त लिम्बुलाई तीन वर्षपछि चैनपुर-४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत बिराटनगर धनकुटाले १८ वर्ष कैद सजायसँगै १५ हजार रुपैयाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए।
उच्च अदालत बिराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मंसिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपियाँ जरिबाना भराउन आदेश दिएको थियो।
१५ वर्षीया बालिकालाई आरोपित लिम्बुले २०७६ असोज १ बलात्कार गरेको भन्दै ०७६ असोज ५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा पीडित उजुरी दिएका थिए। पक्राउ परेका लिम्बुलाई प्रहरीले सोमबार जिल्ला अदालमा बुझाएको छ।

