

अनलाईन गेमिङमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ

काठमाडौं – झापाको दमक नगरपालिकाका विभिन्न स्थानमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी सट्टाबाजी खेल खेल्ने र खेलाउने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका संचालकहरू दमक नगरपालिका ८ ठेगाना भएका २५ वर्षीय सत प्रकाश साह, सोही नगरपालिका ७ ठेगाना भएका २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियो संचालक कमल गाउँपालिका २ ठेगाना भएका ३० वर्षीय अरूण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका संचालक दमक नगरपालिका ८ ठेगाना भएका ३३ वर्षीय राजु लिम्बु रहेका छन् ।
वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेलको सिम प्रयोग गरी आवश्यक पर्ने रकम प्राप्त गर्न ईसेवामार्फत कारोबार गर्ने र कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालय तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसईईको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरिएको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआईटि शाखा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीमध्ये सत प्रकाश साहको साथबाट २ सय ४४ थान एनसेलका सिमहरु, विभिन्न कम्पनीका ९ थान मोबाइल, २ थान ल्यापटप, राजु श्रेष्ठको साथबाट ८० थान एनसेलका सिमहरु, १ थान मोवाइल, १ थान सिपियु, १ थान ल्यापटप, ४ थान स्ट्याम्प बरामद गरेको छ भने अरूण कार्कीको फोटो स्टुडियोबाट बिभिन्न कम्पनिका ९ थान मोबाइल, १ थान ल्यापटप तथा ५ थान स्ट्याम्प प्रहरीले बरामद गरेको छ ।
उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर र लिखत सम्बन्धित कसूर अन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

