

नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी, ३ जना पक्राउ

काठमाडौं – हराएको नागरिकतालाई दुरुपयोग गर्दै कम्पनी दर्ता गरी ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको निरज पाण्डेयको नागरिकता दुरुपयोग गरेर आरोपीहरुले काठमाडौंको ज्ञानेश्वरमा कम्पनी अफिस खडा गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भक्तपुरको थिमी घर भएका प्रदिप कर्माचार्य उर्फ सुरेश, मुगु घर भएका २४ वर्षीय विशाल कार्की र मुगुकै खत्याड गाउँपालिका–८ घर भएर अहिले बुढानिलकण्ठ बस्ने २१ वर्षीय रामकृष्ण रावत छन् ।
आरोपीहरुले कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७८ मंसिरमा निरज पाण्डेयको नाममा ‘एभरेष्ट लिंक इन्टरनेशनल एजुकेशन प्रालि’ नामको कम्पनी खोलेर निरजकै नाममा बैंक खाता समेत खोलेर ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
उनीहरुले रसिया पठाउने प्रलोभन देखाएर ठगी गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले जानकारी दिए । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

