जुवाडेसँग पैसा असुल्ने डिएसपी गिरीमाथि कारवाहीको डण्डा


भक्तपुर– जुवा अखडा सञ्चालन गर्ने गिरोहबाट हप्ता बुझ्ने भक्तपुर परिसरका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक गिरीमाथि महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरीले छानबिन थालेको छ।

जुवा अखडा र केही जुवाडेसँग ‘कनेक्सन’ देखिएपछि उनीमाथि छानबिन सुरु गरिएको हो। त्यसका लागि आयुक्त कार्यलयले भक्तपुर परिसरलाई पत्रचार गरेको स्रोतले जनायो।

पछिल्लो समय काठमाडौं र ललितपुर प्रहरी जुवा नियन्त्रणमा केही आक्रमक रुपमा प्रस्तुत भएपछि जुवा अखडा सञ्चालन गर्ने गिरोहले भक्तपुरलाई सेल्टर बनाउन थालेका छन्।

भक्तपुरका केही घर र होटलमा जुवा अखडा सञ्चालन हुँदै आएको जानकारीमा रहे पनि प्रहरीले संरक्षण गर्ने गरेको प्रमाण फेला परेको छ।  भ्रद र नरम स्वभाव भएकी प्रहरी उपरिक्षक (एसपी) तारा थापाको कमजोरीको फाईदा उठाउँदै डिएसपी गिरीले जुवालगायतका अपराधबाट मोटो रकम असुल्ने गरेको समाचार यसअघि अनलाइनन्युज सेभेनले सार्वजनिक गरेको थियो।

तिहार लक्ष्मी पुजाको दिन भक्तपुरमा एउटा ठूलो जुवामा डिएसपी गिरीले मोटो रकमको चलखेल गरेका थिए। एसपी तारा थापाको कमजोर कमाण्डका कारण डिएसपी गिरीले भक्तपुरलाई अहिले आपराधिक गिरोहको चलखेल गर्ने ‘ग्रे एरिया’ बन्न दिएको पनि चर्चा छ।

एसपी थापाको आँखामा छारो हालेर डिएसपी गिरीले असुली धन्दा चर्काएको आरोप लाग्दै आएको छ। गिरी महानगरीय प्रहरी बृत्त ठिमी जाने योजनामा छन्। भक्तपुर आउनु अघि गिरी काभ्रेमा थिए।

सानो ठिमी बृत्तका डिएसपी ऋषिराम कँडेल बढुवाको लाईनमा छन् । कँडेल अबको एसपी बढुवाको अग्रपंक्तिमा छन्। कडेल बढुवा भएपछि परिसरबाट वृत्त जाने योजनामा डिएसपी गिरी रहेको स्रोत बताउँछ । यसका लागि डिएसपी गिरीले भक्तपुरमा असुलेको रकम हेडक्वार्टरसम्म पुर्याउने गरेका छन् ।

काभ्रेमा रहँदा पनि घर बनाउने बहानामा गिरीले धेरैलाई गिट्टी, बालुवा ईट्टा मागेर हैरान बनाएका थिए।

प्रतिक्रिया