

श्रीकृष्ण श्रेष्ठ निधन भएको ८ वर्ष पुग्यो

काठमाडौँ। नेपाली फिल्म उद्योगमा उँचो छवि बनाएका कलाकार थिए– श्रीकृष्ण श्रेष्ठ। उनले आफ्नो जीवनकालमा थुप्रै हिट फिल्म दिए। उनको २०७१ साउमा निधन भयो। उनको निधन साउन २५ मा ८ वर्ष पूरा भएको छ।
श्रेष्ठको दिल्लीको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। ४५ वर्षका श्रेष्ठले बोन क्यान्सरका कारण मृत्युवरण गर्नुपर्यो। उनको मृत्यु ताका उनले नै निर्माण गरेको फिल्म ‘कोहिनुर’ प्रदर्शन भएको थियो।
श्रेष्ठको निधनको ८ वर्ष बितिसक्दा पनि उद्योगका मानिसले उनलाई उसैगरी सम्झना गर्ने गरेका छन्। फिल्म उद्योगमा मिलनसार अभिनेताका रुपमा चिनिने श्रेष्ठले थुप्रै पारिवारिक फिल्ममा अभिनय गरेका छन्।
उनले अभिनय गरेका अधिकांश फिल्मले ५१ दिन मनाउँथे। कति फिल्म सय दिनसम्म चलेका रेकर्ड उद्योगमा छन्। उनले अभिनय गरेका ‘आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, हामी तीन भाइ, कहाँ भेटिएला, सुख–दुःख’लगायतका थुप्रै फिल्म बक्स अफिसमा हिट भएका थिए।

