

काभ्रेस्थली घटनाः हत्या गरिएका चारैजनाको पहिचान खुल्यो
काठमाडौं – तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएका चारै जनाको पहिचान खुलेको छ ।
काठमाडौं प्रहरीका अनुसार सोमबार मध्यान्ह हत्या गरिएको अवस्थामा एकै परिवारका चार जनाको शव भेटिएको थियो ।
मृतकहरू एकै परिवारका रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको अवस्थामा शव भेटिएको हो ।
गोरखा भीमसेन गाउँपालिका–६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।
उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

