पाँच स्थानबाट अवैध लागूऔषधसहित छ जना पक्राउ


काठमाडौं – दाङ, झापा, मकवानपुर, धनकुटा र सुनसरीबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१५ शान्तिनगर टोलस्थित सृजना खाजा घर एण्ड रेष्टुरेण्टकी सञ्चालक ४७ वर्षीय हरि राना क्षेत्रीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । उनको साथबाट ३ सय २० मिलिग्राम ब्राउन सुगर बरामदर गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट ७ वटा पुरियामा रहेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचिपुल छेउबाट कन्काई नगरपालिका–४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र २५ वर्षीय सन्दिप कुमाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम हेरोईन बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ खादेगाउँ बस्ने ५४ वर्षीय सोनामसिंह रूम्बालाई प्रहरीले पक्राउ गरेको छ । उनको घरबाट करिब १ सय ३१ किलोग्राम गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी नामटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा ७ वटा बोरामा राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो । गाँजा बरामद भएपछि घरधनी रूम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित झारफुक केन्द्रबाट पक्राउ गरेको हो ।

धनकुटाको धनकुटा नगरपालिका–९ थानी चोकबाट करिब ४ किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभूमि गाउँपालिका–५ बस्ने २१ वर्षीय मनोज परियार छन् ।

प्रदेश १–०२–००१ ज ४०७७ नम्बरको बोलेरोलाई अस्थाई प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोलेरोको छतमा गाँजा फेला पारी बोलेरो चालक परियारलाई पक्राउ गरेको हो । सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित सडकबाट २ सय ८ किलोग्राम गाँजासहित एक जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभूमि गाउँपालिका–२ बस्ने २० वर्षीय तेज राई रहेका छन् ।

को.१ ख २९२६ नम्बरको अदुवा बोकेको मिनिट्रकलाई अस्थाई प्रहरी पोष्ट ईनरूवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ७ वटा बोरामा लुकाई ल्याएको उक्त गाँजा फेला पारी मिनिट्रकका चालक तेजलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया