युरेनियम जस्तो पदार्थसहित विराटनगरबाट १५ पक्राउ


विराटनगर – नेपाल प्रहरीले विराटनगरबाट युरेनियमजस्तो देखिने पदार्थसहित १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोलीले विशेष सूचनाको आधारमा प्रहरीले आइतबार ८ जना र मंगलबार ७ जनालाई पक्राउ गरेको हो ।

आइतबार विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोकमा रहेको ‘ठूल्दाइको होटल’ मा कोठा लिएर बसेका ८ जनालाई विशेष सूचनाको आधारमा १ किलो ८७.३ ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ घर भएकामात्रै पाँच जना छन् । मोरङको विराटनगर महानगरपलिका–१२ का ४६ वर्षीय फटिककुमार कार्की, धनपालथान गाउँपालिका–७ का ४१ वर्षीय शिवशंकर पासवान, ४४ वर्षीय लक्ष्मण शर्मा, ४३ वर्षीय प्रदीप पुरी, सोही गाउँपालिका–४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलीपकुमार शर्मा पक्राउ परेका हुन् ।

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–७ का ३५ वर्षीय गोपाल मगर र खोटाङको हलेसी नगरपालिका–९ का ३२ वर्षीय किरण राई पनि सोही दिन पक्राउ परेका हुन् ।

त्यस्तै मंगलबार दिउँसो विराटनगर महानगरपालिका–३ स्थित दूध फारमबाट विशेष सूचनाको आधारमा ९७८.६ ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित अन्य ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको मङ्हा नगरपालिका–६ का ४२ वर्षीय अब्दुलगनी खान, बर्दिबास नगरपालिका–१२ का ३० वर्षीय चन्दनकुमार महतो, मनराषिशवा नगरपालिका–३ का ४९ वर्षीय उमेशप्रसाद यादव छन् ।

त्यस्तै मोरङको ग्रामथान गाउँपालिका–३ का ५५ वर्षीय रवीन्द्र गच्छदार, गोरखाको गण्डकी गाउँपालिका–८ का ४५ वर्षीय जीवन गुरुङ, मकवानपुरको बागमती गाउँपालिका–५ का ३६ वर्षीय दीपकबहादुर भ्लोन र सिन्धुलीको कमलामाई नगरपालिका–५ का २८ वर्षीय श्याम घिमिरे पनि सोही दिन पक्राउ परेका हुन् ।

प्रहरीकाअनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया