करार कर्मचारीको म्याद थप नगर्ने निर्णयपछि गाउँपालिकामा तालाबन्दी


जाजरकोट – जिल्लाको शिवालय गाउँपालिकामा कार्यरत करार कर्मचारीले गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। करारमा नियुक्त गरिएका कर्मचारीको म्याद थप नगर्ने गाउँपालिकाले निर्णय गरेपछि उनीहरुले तालाबन्दी गरेका हुन्।

गाउँपालिकाको वडा र शाखा तथा इकाईमा कार्यरत करार कर्मचारी, कृषि, पशुपंक्षी र स्वास्थ्य सेवाका प्राविधिक करार कर्मचारी, करारका अनुदान शिक्षक, बालविकासका सहजकर्ता र सवारी चालक गरी करिब १५० बढी करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँसभाको गत २८ गते बसेको बैठकले निर्णय गरेको थियो।

ती सबै कर्मचारीलाई म्याद थप नगर्ने निर्णय भएको हुँदा अर्को ब्यवस्था नभए सम्मका लागि साउन १ गते देखि हाजिर हुन नआउने सूचनासमेत प्रकाशित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार चन्दले बताए। आवश्यकता, कार्य मुंल्याकन र औचित्यताका आधारमा पुनः म्याद थप/नियुक्ती गरि कर्मचारी ब्यवस्थापन गरिने चन्दले बताए।

‘करार सम्झौतामै जतिखेर पनि करार अवधि तोड्न सकिने र आवश्यकताअनुसार म्याद थप गर्न सकिने उल्लेख भएको हुन्छ। त्यसैले यो आन्दोलनको औचित्य छैन,’ उनले भने।

तालाबन्दीपछि सेवा प्रवाहसमेत प्रभावित हुन पुगेको छ। करारमा भर्ना गरिएका कर्मचारीलाई तत्काल करार सम्झौताले निरन्तरता पाउनुपर्ने उनीहरुको माग छ। करार कर्मचारीको म्याद थप नगर्दासम्म गाउँपालिकाको कार्यालयमा लगाएको ताला नखोलिने कर्मचारीले बताएका छन्।

बिहानैदेखि करार कर्मचारी र स्थानीयहरुले गाउँपालिकाको कार्यालयमा धर्ना र सडक जाम गरेर गाडी आवतजावतमा रोक लगाएका छन्। गाउँपालिकाको असार २८ गतेको गाउँसभा बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो। कतिपयले गाउँसभाको यो निर्णयलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिएका छन्।

गाउँपालिकामा यसअघि एमाले नेतृत्वको सरकार थियो भने अहिले कांग्रेस नेतृत्वको छ। धेरैजसो करारका कर्मचारी आवश्यकताभन्दा बढी नै एमालेका कार्यकर्ता भर्ति गरेका कारण म्याद थप नगरिएको स्रोतको दाबी छ।

प्रतिक्रिया