

मोबाइल चोर खोज्दा प्रहरीले झापामा ८० राउण्ड गोली फेला

झापा – जिल्ला सदरमुकाम भद्रपुरस्थित प्रियंका मोबाइल पसलमा गत शुक्रबार सटर फुटाएर चोरी भएको मोबाइल खोज्दा गोली भेटीएको छ ।
राजु अग्रवालले सञ्चालन गरेको पसलबाट २९ वटा मोबाइल सेट, दुई वटा घडी र नगद ६१ हजार ५ सय रुपैयाँ चोरिएको थियो । जिल्ला प्रहरी कार्यालय, भद्रपुरमा उजुरी परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो । सञ्चालक अग्रवालले हराएका मोबाइलमध्ये केहीका आईएमईआई नम्बर प्रहरीलाई टिपाए । त्यसको आधारमा ट्रेस गर्दै जाँदा एउटा मोबाइलमा भद्रपुर–५ का एक व्यक्तिको सीम कार्ड सक्रिय देखियो ।
उनलाई ट्रेस गरेर गएको प्रहरी टोलीले मोबाइलसहित १८ वर्षीय मोहम्मद प्यारेलाई पक्राउ गर्यो । सुरुमा उनले चोरी गरेको स्वीकारेनन् । तर उनको घरमा गएर खनतलासी लिँदा २७ वटा मोबाइलका चार्जर बरामद भयो । साथै, गाडेको अवस्थामा पेस्तोलमा लाग्ने ८० राउण्ड गोली पनि बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।
पोखरेलका अनुसार प्रारम्भिक बयानमा उनले भारतबाट गोली ल्याएको बताएका छन् । थप खुलाएका छैनन् । गोलीबारे थप अनुसन्धान भइरहेको उनले बताए । अन्य मोबाइल पनि भारततिर विक्री गरिसकेको हुनसक्ने आशंका गरिउको छ ।
प्रहरीले उनको घरबाट मोबाइल पसलमा चोरीका लागि प्रयोग गरिएको रड र पसलको ताला समेत बरामद गरेको छ । घटनामा संलग्न अन्यबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

