नबिल र बङ्गलादेश बैङ्कको एकीकृत कारोबार सुरु


काठमाडौं – नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कका सोमबारदेखि एकीकृत कारोबार सुरु भएको छ । एक्विजिसनपछि ‘नबिल बैङ्क’को नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सुरु भएको हो ।

नबिल बैङ्कले राष्ट्र बैङ्कको अनुमतिबाट नेपाल बङ्गलादेशलाई प्राप्ति गरेसँगै अब नेपाल बङ्गलादेश बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैङ्कले प्राप्त गरेको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले अझै विस्तारित र सशक्त भई राष्ट्र निर्माणमा वित्तीय क्षेत्रबाट अग्रसरता लिने प्रतिबद्धता जनाएका छन् ।

उनले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्‍याउने बताए । ‘निक्षेपकर्ता, लगानीकर्ता लगायत सरोकारवालाहरूको हित संरक्षण गर्ने, देशव्यापी शाखाहरूको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच बढाउने, पुँजीगत आधार सुदृढ गरी सम्भावित वित्तीय जोखिमलाई न्यूनीकरण गर्न अग्रणी भूमिका खेल्ने नीति लिनेछौ’ उनले भने ।

प्रतिक्रिया