

उत्पादनशील क्षेत्रमा लगानीको नीति ल्याउन राष्ट्र बैंकलाई बैंकर्सको सुझाव

काठमाडाैं – आगामी मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन बैंकर्सहरूले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकलाई बैंकर्सहरूले यस्तो सुझाव दिएका हुन् ।
बैंकर्सहरू सबैले मौद्रिक नीतिको सुझावमा उत्पादन क्षेत्रमा कर्जा प्रभावलाई प्राथमिकता दिएर आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमा बोल्दै नेपाल बैकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपध्यायले उत्पादनशील क्षेत्रमा लगानी बढाउने किसिमको मौद्रिक नीति आउनुपर्ने सुझाव दिए ।
उनले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादनलाई वृद्धि गर्न सके मात्रै अर्थतन्त्रमा सुधार आउने बताए । उपाध्यायले नेपालमा आउने रेमिट्यान्स बैंकिङ प्रणालीभन्दा टाढा रहेकाले बैंकिङ प्रणालीमा ल्याउनुपर्ने बताए । उनले उत्पादन क्षेत्रमा जति मार्जिन दियो, त्यति बढ्दै जाने बताए ।
अध्यक्ष उपाध्यायले उत्पादनमूलक र अनुत्पादनमूलक क्षेत्र छुट्याएर जोखिम भारलाई कम गरेमा भने बैंकहरूलाई प्रोत्साहन हुने बताए । उनले उत्पादन क्षेत्रमा जोखिम भार फरक गरिनुपर्ने बताए । उनले बैंकहरूमा लागू भएको बेस रेट व्यावहारिक नभएको भन्दै मौद्रिक नीतिमार्फत सुधार गर्न सुझाव दिए ।
उनले भने, ‘उत्पादन क्षेत्रमा पनि खासगरी विदेशी लगानी यो वर्ष भारतमा ३३१ बिलियन फर्किएको अवस्था छ । ५ वर्षमा जुन वृद्धि गरेको थियो यो वर्ष तल झरेको छ । विदेशी लगानीको आशा गर्ने सम्भावना कम छ । हामीले लगानी बढाउने भए लगानी आउने ठाउँ कहाँ हो खोज्नुपर्छ । कृषि क्षेत्रलाई पनि शेयर मार्केटमा प्रवेश गराउन सके केही खेल्न सकिन्छ । रेमिट्यान्स अझै पनि बैंकिङ च्यानलबाट टाढा छौं । यसलाई कसिलो रूपमा काम गर्यो भने हुन्छ । यो रिसोर्स व्यवस्थापनमा हामीले बाहिरबाट आउने बवरिङ र ईसीबीका कुराहरूमा अझै सजिलो बनाउन सकिन्छ कि ? उत्पादनमूलक र अनुत्पादनमूलक क्षेत्र छुट्याउन सक्यो र उत्पादनमूलक क्षेत्रमा छोटो र लामो पोस्टपेटबाट भ्याल्यू चेनसँग जोडिएको कुन हो र आन्तरिक खपतसँग कुन हो, यसलाई मौद्रिक नीतिमा जोखिमको भारलाई मिलाउन सक्यो भने यो क्षेत्रलाई प्रोत्साहन गरे बैंकहरूले लगानी गर्ने जोखिम सँगसँगै बस्यो भने लगानीमा कडाइ हुन्छ । उत्पादन क्षेत्रमा प्राथमिकता दिने काम पनि त्यही गर भन्दा प्रेसर बढी हुन्छ । यहाँ दिने कुरा पनि दियौं । उत्पादन क्षेत्रमा जति मार्जिन दियो त्यति लगानी बढ्छ । उत्पादन क्षेत्रमा जोखिम भार फरक गर्नुपर्छ । बैंकहरूमा बेसरेड व्यावहारिक छैन । भारतको उदाहरण दिन सक्छौं । बेस रेटको क्यालकुलेसनलाई हामीले अन्तिमको ३ महिनाको मूल्यलाई ट्रान्सफर गर्ने सिस्टम गरिदियो भने राम्रो हुन्छ ।’
विकास बैंकर्स एशोसिएशनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले उत्पादनमुखी उद्योग र कृषि उत्पादन तथा प्रशोधन उद्योगमा दिने कर्जाको जोखिम भार मौद्रिक नीतिमार्फत घटाउनुपर्ने बताए । उनले त्यस्तो कर्जामा जोखिम भार घटाउँदा सजिलै उद्योगले कर्जा पाएर आन्तरिक उत्पादन बढ्ने बताए ।
अध्यक्ष पोखरेलले अहिले बैंकहरूबाट उत्पादन क्षेत्रमा निर्देशित मात्रै कर्जा लगानी भएको भन्दै राष्ट्र बैंकले तोकिएको प्रतिशतभन्दा बढी उत्पादन क्षेत्रमा लगानी गर्ने बैंकलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले मौद्रिक नीतिमार्फत विकास बैंकहरूले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने व्यवस्था गर्न सुझाव दिए । अध्यक्ष पोखरेलले विकास बैंकलाई पनि सरकारी कारोबार गर्न दिए बैकिङ क्षेत्रको स्थिरतालाई सहयोग गर्ने बताए ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरूको कर्जा लगानी उत्पादन क्षेत्रमा बढी गर्नुपर्छ भन्ने राष्ट्र बैंकको नीतिमा उल्लेख हुनुपर्ने बताए । उनले पछिल्लो समय बैंकहरूले उत्पादन क्षेत्रभन्दा बाहिर बढी लगानी गर्दा समस्या आएको बताए । अध्यक्ष गोल्यानले विदेशबाट आउने रेमिट्यान्समा मौद्रिक नीतिमार्फत थप २ प्रतिशत ब्याजको व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालमा विदेशी लगानी ल्याउनको लागि मौद्रिक नीतिमार्फत सहज बनाउनुपर्ने बताए ।
अध्यक्ष गोल्यानले बैंकहरूमा १० लाखभन्दा बढी जम्मा गर्न नपाउने भएको भन्दै मौद्रिक नीतिमार्फत २५ लाखसम्म बैंकको मुद्धति खातामा पैसा राख्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।

