चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीकाे आवेदन


काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन्।

आइतबार आवेदन दिने अन्तिम दिन रहेको सञ्चार मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाका प्रमुख मुकुन्द शर्माले जानकारी दिए।

अभिनेता केसीसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन्। तर संस्थान समन्वय शाखाका प्रमुख शर्माले आवेदन दिनेको अन्तिम समितिले स्वीकृति प्रदान गरेपछि मात्रै सार्वजनिक गरिने जानकारी दिए।

बोर्डको अध्यक्ष पदका लागि असार ५ गते सूचना प्रकाशित गर्दै खुलेको आवेदनमा मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातक उत्तीर्ण गरी चलचित्रमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह पास गरी चलचित्र क्षेत्रमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड उल्लेख गरेको थियो।

दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षका लागि चलचित्रकर्मीको दौडधूप बढेको हो।

प्रतिक्रिया