

आईजी सिंहविरुद्धको रिटमा अहिलेसम्मको अदालत अन्तर्य !

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहको बढुवा विरुद्ध परेको रिटको सुनुवाई सुरु भएको छ ।
अन्तिम सुनुवाईको रुपमा चौथोपटक सुरु भएको आजको सुनुवाईमा आईजी सिंहका पक्षका कानुन व्यवसायीले बहस सुरु गरेका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले गत जेठ १९ गते मुद्दा दायर गरेका थिए । पहिलो सुनुवाई वैशाख २१ गते न्यायाधीश सुष्मालता माथेमाको इलजासमा भएको थियो । पहिलो सुनुवाई नै हेर्दाहेर्दैमा परेको उक्त रिटमा दोस्रो सुनुवाई भोली पल्ट अर्थात् वैशाख २२ गते आदेश भएको थियो । उक्त आदेशअनुसार अन्तरिम आदेश जारी नहुने गरी कारण देखाउ आदेश भएको थियो ।
त्यसपछि जेठ १७ गतेका लागि अर्को पेश तोकिएकोमा उक्त दिन न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाई भएको थियो । उक्त दिन उक्त रिटसँगै अन्य मुद्दालाई समेत सँगै राखेर सुनुवाई गर्ने गरी लगाउ आदेश जारी भएको थियो ।
त्यसपछि जेठ ३० का लागि तोकिएको पेशी न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको पूर्ण इजलासमा सुरु भएको थियो । त्यसदिन उक्त रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा गएको थियो ।
त्यसपछि अर्को पेश असार ५ का लागि तोकिएकोमा उक्त दिन पनि हेर्दाहेर्दैमा नै सकिएको थियो । त्यसपछि असार १३ गते पनि हेर्दाहेर्दैमा सकियो भने आज असार १९ गते पनि उक्त रिट हेर्दाहेर्दैमा सकिने लक्षण देखिएको छ । असार १३ गते पनि यो इजलासमा यो मुद्दाबाहेक अन्य मुद्दा राखिएको थिएन । उक्त मुद्दामा मात्रै बहस भइरहे पनि बहस नसकिएकोले हेर्दाहेर्दैमा गएको थियो ।
संयुक्त इजलासमा आज पनि सुनुवाई सुरु भइसकेको छ । अब उक्त इजलासका लागि अन्य कुनै पनि मुद्दाहरु राखिएको छैन । प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीको सूची लामै रहेकाले बहस आज पनि नसकिने र फेरि हेर्दाहेर्दैमा जानसक्ने सम्भावना रहेको सर्वोच्च स्रोतले जनाएको छ ।
एआईजी पोखरेल लामोसमयदेखि बिदा समेत स्वीकृत नगराई कार्यालयमा हाजिर भएका छैनन् । उक्त मुद्दाको किनारा लागेर पोखरेलको पक्षमा फैसला भएमा पोखरेल सेवामा फर्कन सक्ने सम्भावना छ अन्यथा साउन २० गते अनिवार्य अवकाशमा जाने भएका छन् ।

