

वहुभाषिक नाट्य महोत्सव जारी, ‘होङछा’ असार १६ गते प्रदर्शन हुने

काठमाडाैं – सृष्टिकालिन संस्कृतिकाे प्रतिबिम्ब खम्वु मुन्दुममा आधारित नाटक ‘होङछा’ यही असार १६ गते विहिवार प्रदर्शनमा हुने भएकाे छ । वहुभाषिक नाट्य महोत्सव अवसरमा वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाद्धारा लिखित एवं निर्देशित नाटक ‘होङछा’ प्रदर्शन हुन लागेकाे हाे ।
मुन्दुमी भेषभुषा, सामग्रीहरु, गरगहना र तत्वहरु समावेश गरी सिप सिकाइ, जीवन भोगाई, माया, प्रेम, विवाह, बुलु, बालाम र सिली जस्ता सांस्कृतिक विकासकाे विषयवस्तु नाटकमा प्रस्तुत गरिएकाे छ । मुन्दुमी, पुमा र प्रर्दशनात्मक भाषा प्रयोग गरी नाटकको दृष्य परिवर्तनमा मुन्दुमी नृत्यहरुबाट मुन्दुमी नाट्य घटनाहरु देखाउन खाेजिएकाे लेखक तथा निर्देशक पुमाले बताए ।
कलाकारहरू प्रवीण पुमा, ध्रुवकुमार राई, निर्मला राई, सकुन्तला राई, खेमराज राई, भुपेन्द्र राई, सविन राई, विनिता सेलिङ, लक्ष्मी राई, निनाम्मा राई, पुर्खाजित राई, ज्योति राई, अनुका राई, सुमन राई, नविन राई, जेनिशा राई, सुष्मा राई, सोनिया जिन्ती राई, सुम्निमा राई, सिम्रन राई, सञ्जय राई, जसवहादुर राई, डिपी राई, लक्ष्मी शोभा राई, प्रतिमा राई, चन्द्रकला राई, पदमकला राई, नन्दकला राईलगायतकाे अभिनय रहेको छ ।
नेपाल सरकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आयोजित वहुभाषिक नाट्य महोत्सव-२०७९ काे अवसरमा यो नाटकको प्रदर्शन काठमाडाैंको थापागाउँस्थित कुञ्ज थिएटरको हलमा हुने भएकाे छ । सुम्निमा थिएटर एकेडेमी नेपालको प्रस्तुति, परशुराम राईको गीत/संगीत, सुमन राईको सिली निर्देशन, ध्रुवकुमार राईको चारित्रिक निर्देशन र प्रवीण पुमाको परिकल्पना, लेखन, निर्देशन रहेको छ । निनाम्मा राईले निर्माण गरेको यस होङछा नाटकको समयावधि १ घण्टा रहेको छ ।
उत्सवमा देशभरबाट छनोटमा परेका सात वटा नाटक मञ्चन गरिनेछ । पहिलो दिन हिजाे आइतबार सोङ्कित लाप्चा निर्देशित लाप्चा भाषाको ‘स्वर्ग जाने सिँढी’ नाटक देखाइएको थियो । नाटकलाई लाप्चाउत्थान मञ्च, इलामले निर्माण गरेको हो । आज साेमबार नाटकको दोश्रो दिन कुन्दन थारूको निर्देशनमा तयार भएको थारू भाषाको ‘कनन हरलता’ मञ्चन हुँदैछ । कुञ्ज नाटक घर थापागाउँमा नाटक भइरहेको छ ।
अब बहुभाषिक नाट्य उत्सवमा सुम्निमा थिएटर एकेडेमी नेपालको पुमा भाषाको होङछा, पुरानो घर समूह(रौतहट)को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा) राई भाषाको ‘सुश्री सुम्निमा’,रङ्गभूमि एकेडेमी (धरान) को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, चुलाचुली रङ्गमञ्च (इलाम)को लिम्बु भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र(जुम्ला)को अवधि भाषाको ‘कुटिरो’ असार १२ देखि १८ सम्म क्रमश मञ्चन हुनेछन् ।

