६४ वटा मोबाइलसहित पशुपतिप्लाजाका पसले पक्राउ


काठमाडौं – नेपाल प्रहरीले राजस्व छलि गरी नेपाल भित्र्याइएका ६४ थान फोनसहित एकजनालाई पक्राउ गरेको छ ।

न्यूरोडको एक मोबाइल पसलमा राजस्व छलि गरी मोबाइल बिक्री गर्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त जनसेवा र नयाँ बानेश्वरबाट खटिएको संयुक्त टोलीले पशुपतिप्लाजाको दोस्रो तलामा रहेको मोबोटेक प्रा.लि.का प्रदीप दुवाडीलाई ६४ थान मोबाइलसहित पक्राउ गरेको हो ।

धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका घर भई हाल न्यूरोड बस्ने दुवाडीबाट विभिन्न १० कम्पनीका ६४ मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवाडीबाट सामसुङ ग्यालेक्सी ७, नार्जो कम्पनीको मोबाइल ३, आईपोन २, ओप्पोको मोबाइल ६, रेडमीको ९, भिभोको ९, वनप्लस कम्पनीको १७, एमआईको ४ र नोकिया कम्पनीको १ मोबाइल बरामद गरेको हो ।

प्रहरीले दुवाडीलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको पनि जनाएको छ ।

प्रतिक्रिया