

भैरहवाको सुधारगृहका बन्दीलाई स्थानान्तर गर्न लाग्दा तनाव, डीएसपी सहित २ सुरक्षाकर्मी घाइते

काठमाडौं – भैरहवास्थित बाल सुधारगृहका युवाहरूलाई स्थानान्तरण गर्ने क्रममा तनाव उत्पन्न भएको छ । यस क्रममा प्रहरी डीएसपी नवरत्न पौडेलसहित २ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
अहिले सुधारगृहभित्र रहेका युवाहरूको समूहले तोडफोड गर्नुका साथै अराजक गतिविधि देखाएको सुरक्षाकर्मीले जनाएका छन् । सुरक्षाकर्मीहरू उनीहरूलाई रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि नै जाइलागेको डीएसपी पौडेलले बताए ।
उनीहरूले सुधारगृहभित्र सीसा फुटाउने, चक्कु प्रहार गर्न खोज्ने तथा आत्महत्या प्रयास गर्ने जस्ता गतिविधि देखाएका छन् । साथै उनीहरूले नारावाजी गर्दै हिंसात्मक गतिविधि देखाएको सुरक्षाकर्मीले जनाए ।
सुधारगृह प्रमुख सुभद्रा गौतमका अनुसार सुधारगृह साँघुरो भएकाले स्थानान्तरण गर्न खोज्दा युवाहरू आक्रामक बनेका हुन् । हाल भैरहवाको सुधारगृहमा १०८ जना युवाहरू रहेका छन् ।

