


कुलेखानीको पानी लिफ्टिङ गरी काठमाडौंमा लगिन्छ – खानेपानी मन्त्री
पानीपोखरी र प्रशोधन केन्द्र दरबानडाँडामा बनाइने

सिस्नेरी (मकवानपुर) – खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुर जिल्लाको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौं पठाउने योजना रहेको बताएका छन् ।
सिस्नेरी खोलााको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने उदेश्यले मंगलबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरिक्षण गर्न गएका मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले बर्षात र बाढीका कारण मेलम्चीको पानी काठमाडौंमा ल्याउन नसकिने अवस्था र सुख्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी काठमाडौंमा उपत्यकामा वितरण गर्न सकिने योजना रहेको संचारकर्मीलाई बताए ।
कुलेखानीको पानी दिर्घकालिन रुपमा बाँध बाँधेर काठमाडौ लैजाने र अल्पकालिन रुपमा २ वर्षभित्रै लिफ्टिङ दैनिक ६ देखि ७ करोड लिटर पानी लैजान सकिने मन्त्री चौधरीले बताए ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजिवबिक्रम राणाले सिस्नेरी खोलामा निर्माण गर्ने स्थल भौगोलिक रुपमा उपयुक्त, वातावरणीय प्रभाव न्युन र थोरै समुदाय मात्र प्रभावित हुने र पाईपलाईन विस्तार गर्न काठमाडौं – तराई ÷मधेशद्रूतमार्गको किनारा प्रयोग गर्न सकिने बताए ।
काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिव १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमति नदी नजिक रहेको प्रस्तावित वाँध स्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिव १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ ।
बागमति नदीभन्दा करिव २ सय मिटर नजिक सिस्नेरीको कुलेखानी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाई तीन सय ४० मिटर र उचाई ६० मिटर रहने बोर्डका कार्यकारी निर्देशक डा. राणाले बताए ।
बाँधस्थलमा जम्मा भएको पानीलाई करिव २ किलोमिटर उत्तरतर्फको एक हजार चार सय १० मिटर अग्लो दरबानडाँडामा निर्माण हुने पानीपोखरी र पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाईने उनले बताए ।
प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधिन दू्रतमार्गमा करिव १९ किलोमिटर उत्तरतर्फ पाईपलाईन विच्छ्याई ललितपुरस्थित एक हजार तीन सय ७० मिटर उचाईमा रहेको सैंबु पानीपोखरीमा खसालिने प्रस्ताव अध्ययनमा गरिएको छ ।
बाँध निर्माण गर्ने स्थलले ८२ बर्गकिलोमिटर जलाधार क्षेत्र ओगट्ने छ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिने प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना स्थल मकवानपुर जिल्लाको भिमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ ।
दीर्घकालिन रुपमा आयोजना संचालनको लागि करिव २६ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताए । बाँध निर्माण गरी आयोजना संचालनलाई पूर्णता दिन करिव ६ वर्ष लाग्ने अनुमान छ । विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भने आइसकेको छैन् ।
आयोजना उपयुक्त भएकाले डीपीआर निर्माण गर्न र अल्पकालिन आयोजना संचालनका लागि नीतिगत निर्णय गर्न आफू तयार रहेको मन्त्री चौधरीले बोर्डका कार्यकारी निर्देशकलाई जानकारी गराए ।
आयोजनाको बाँध मात्र निर्माण गर्न करिव १९ अर्ब ८० करोड, पम्पिङ स्टेसन निर्माणको लागि १५ करोड, पाइपलाइन विस्तारको लागि १ अबै र पानी प्रशोधन केन्द्र निर्माणवको लागि करिव ५ अर्ब ८५ करोड लागत अनुमान गरिएको छ ।

