

कपी राइट गरेको आरोपमा बिन्दवासिनी म्युजिककी अध्यक्ष रेग्मी पक्राउ

काठमाडौँ – प्रतिलिपि अधिकार उल्लंघन (कपी राइट) गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले बताए।
केही सातअघि गायक प्रमोद खरेललाई सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका अध्यक्ष लिना शर्मा रेग्मीलाई कारबाहीको माग गर्दै ५७ जना गायक गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा निवेदन दिएका थिए ।
आफ्नै लगानी र कपीराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको उनीहरुको निवेदनमा उल्लेख थियो ।
सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो।
‘कलाकारहरूले कपी राइट सम्बन्धमा जाहेरी दिनुभएको थियो। त्यसैआधारमा हामीले पक्राउ अनुमति लिएर ल्याएका हौं’,उनले भने। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

