

ओली सरकारलाई मनिषा कोइरालाका दुई गम्भीर प्रश्न

काठमाडौं– पछिल्लो पटक अभियन्ताका रुपमा उदाएकी अभिनेत्री मनिषा कोइरालाले पृथ्वी जयन्तीका क्रममा नेपाल प्रहरीले सिंहदरबार अगाडि गरेको धरपकडबारे सरकारलाई दुई गम्भीर प्रश्न गरेकी छन्।
पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालसहित राजावादी संघ संस्था र कोइराला समेत उपस्थित भई सिंहदरबार अगाडि रहेको वडामहाराज पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रिय एकता दिवसको दिन श्रद्धाञ्जलीका पुष्पगुच्छा चढाउन जाँदा सोमबार प्रहरीले धरपकड गरेको थियो।
सो विषयमा आफूलाई चित्त नबुझेको भन्दै कोइरालाले ट्वीटरमार्फत पनि आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। पृथ्वी जयन्तीका अवसरमा पूर्वनिर्धारित कार्यक्रममा प्रहरीले धरपकड गरेपछि उनले सोधेकी छन्,‘ मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामुहिक भावलाई सरकारले सम्मान गर्नेछ। तर उसको व्यवहार ठिक उल्टो देखियो। पृथ्वीनारायणको शालिक अगाडि नै सरकार को यो आपत्तिजनक कार्य? पानीको फोहरा र टियर ग्याँस सहित नै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?’
सिंहदरबार अगाडि ठूलो जुलुस नै रहेका कारणले त्यसलाई नियन्त्रणका क्रममा केही धरपकड भएको थियो। त्यसपति उनले लेखेकी छन्,‘ राष्ट्रिय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्र निर्माताप्रति एक भई श्रद्धाञ्जली दिन नापाउने? आमव्यक्ति को भेला हुने मौलिक अधिकार खोसेर सरकार अधिनायकवादतर्फ उन्मुख छ।’
कोइरालाले २९९ औं पृथ्वीजयन्ती मनाउँदिन भन्नु मृत्यु भएका आफ्ना बुवाआमाको श्राद्ध गर्दिन भन्नु जस्तै रहेको पनि बताएकी थिइन्। उनले नेपालले नेपालीलाई माया गर्नुपर्ने र त्यसका निर्माताको सम्मान अनिवार्य हुनुपर्ने बताउँदै आएकी छन्।

