गण्डकीमा नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्रलाई प्राथमिकता, विद्यालयमा निःशुल्क स्यानिटरी प्याड (पूर्ण पाठ)


पाेखरा – गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार प्रदेशसभामा संघीयता स्थापनापछिको पहिलो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

भौतिक पूर्वाधारबाहेक स्वास्थ्य क्षेत्रमा विशिष्ट कार्यसम्पादन दाबी गरेको प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । ज्येष्ठ नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन प्रदेश सरकारसँग बा-आमा कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० शय्याको मुटुरोग अस्पताल स्थापना गर्ने योजना अघि सारेको छ । प्रतिष्ठानसँग मिलेर पोखरामा मृगौला प्रत्यारोपण थाल्ने योजना प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेको छ । संघ सरकार मातहतको प्रतिष्ठानअन्तर्गत पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सञ्चालनमा छ ।

मानव सेवा आश्रम, वृद्धाश्रममा आश्रित दीर्घ रोगीका लागि नियमित सेवन गर्नुपर्ने औषधि निःशुल्क दिने प्रदेश सरकारको नीति छ । प्रदेश सरकारले महिला र १६ वर्षमुनिका बालबालिकालाई हुने सबै प्रकारका क्यान्सरको निःशुल्क उपचार थाल्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । स्वास्थ्यतर्फ स्पाइनल इन्जुरी तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापन र पुनर्स्थापनाको लागि ह्वीलचियर, कृत्रिम हातखट्टालगायत आवश्यक सहायक सामग्री उपलब्ध गराउने र सहज उपचारको प्रबन्ध मिलाउने प्रदेश सरकारको नीति छ ।

प्रदेश सरकारले सबै सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटेरी प्याड उपलब्ध गराउने नीति लिएको छ । ‘प्रदेश सरकारको प्रतिबद्धता : मर्यादित महिनावारी र स्वच्छता’अन्तर्गत किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा निःशुल्क स्यानिटरी प्याड वितरण र विसर्जनको सुविधा उपलब्ध गराउनुका साथै महिनावारी विभेद अन्त्य गर्न सबै सरोकारवालाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

गण्डकी प्रदेशका ६ वटा क्याम्पसमा प्राविधिक शिक्षा पढाइ थाल्ने योजना प्रदेश सरकारले सार्वजनिक गरेको छ । प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको नीति छ । कृषितर्फ जग्गा बाँझो नराखौँ, किसानसँग विज्ञ कार्यक्रम सञ्चालन, उत्कृष्ट किसानलाई पुरस्कार, अनुसन्धानात्मक कृषि पर्यटन प्रवद्र्धनलगायत योजना ल्याउने प्रदेश सरकराको नीति तथा कार्यक्रममा उल्लेख छ ।

होमस्टे प्रवद्र्धन, लेक कनेक्सन ट्रेल, हनिमुन टुरिजम पर्यटन क्षेत्रतर्फका योजना छन् । विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकताको नीति लिने र प्रदेशका प्रमुख सडकका उपयुक्त ठाउँमा चार्जिङ स्टेसन बनाउने प्रदेश सरकारले जनाएको छ ।

प्रदेशमा चलचित्र क्षेत्रलाई व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने र चलचित्र विकास बोर्ड गठन गर्ने प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रदेश प्रमुख गुरुङले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आधारित भएर आगामी १ असारमा प्रदेश सरकारले बजेट ल्याउने छ ।

नीति तथा कार्यक्रमकाे पूर्ण पाठ:

प्रतिक्रिया