नेपाल प्रहरीका एआईजीकाे पदस्थापन र सरूवा, उपत्यका प्रहरी प्रमुखमा धानुक


काठमाडौँ– सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट डीआईजीबाट एआईजीमा बढुवा भएका नेपाल प्रहरीका पाँच जनाको जिम्मेवारी बाँडफाँट पनि आजै हुने भएको छ। बढुवा भएका पाँचै जनाले आज एआईजीको फुली लगाउँदै छन्। त्यसलगत्तै उनीहरुले कार्यक्षेत्रको जिम्मेवारी पाउने नेपाल प्रहरी स्रोतले जनाएको छ। त्यस्तै अन्य एआईजीको पनि आजै जिम्मेवारी बाँडफाँट हुने छ।

बढुवा समितिको सिफारिसमा गृहमन्त्रालयको प्रस्तावमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डीआइजीहरू उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले नेपाल प्रहरीमा रिक्त पाँच एआईजी दरबन्दीका लागि करिब दुई साताअघि बढुवा सिफारिस गरेको थियो।
प्रहरी स्रोतका अनुसार एआईजी रवीन्द्र धानुकको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ।

हिजोमात्रै बढुवा भएका उत्तम सुवेदीको सीआईबीमा पदस्थापना भएको छ। त्यस्तै दिवेश लोहनीको अपराध अनुसन्धान विभाग, अरुण बिसीको प्रशासन विभाग, पूजा सिंहको मानव स्रोत विभाग, मुकुन्द आचार्यको प्रहरी एकेडेमीमा पदस्थापना भएको छ। विश्वराज पोखरेलको भने प्रदेश समन्वय र सहकुल थापाको कार्य विभागमा सरुवा भएको छ। थापा यसअघि पनि कार्य विभागमै थिए भने पोखरेल मानव स्रोत विभागमा कार्यरत थिए। त्यस्तै धानुक प्रशासन विभागमा थिए।

प्रतिक्रिया