प्रहरी र गाँजा तस्कर समूहबीच बारामा गोली हानाहान, एक जना पक्राउ


बारा – बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ। शनिबार राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करीमा संलग्न ८/१० जनाको समूहले गोली हानेको हो।

बारा जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रका अनुसार गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो।

त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो। जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको छ।

घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका- ६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ। साथै १०२ किलो गाँजा पनि बरामद भएको डीएसपी गौतमले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया