मोटरसाइकल चोरी गर्ने ८ जना पक्राउ


बिर्तामोड – मोटरसाइकल चोरी गर्ने गिरोहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

उनीहरूले अर्जुनधारा नगरपालिका ८ र १० मा सटर भाडामा लिएर ग्यारेज सञ्चालन गर्ने बहानामा चोरी गरिएका मोटरसाइकलहरू राख्ने तथा खरिदबिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीले ग्यारेज सञ्चालन गर्ने सप्तरीको टिकुली नगरपालिका ५ का २७ वर्षीय करण मोहमदसहित झापा गौरीगञ्ज गाउँपालिका ५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका ८ का १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका ५ का १८ वर्षीय विष्णु भण्डारी, १८ वर्षकै करण मण्डल, बिर्तामोड ३ का १९ वर्षीयकुमार राजवंशी, सोही वडाका १८ वर्षीय सुमन विहारी र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले बिर्तामोड तथा आसपासको क्षेत्रबाट विभिन्न मितिमा चोरी गरेका बजाज र हिरोहोन्डा कम्पनीका ४/४ वटा, यामाहा, होन्डा, सुजुकी र टीभीएस कम्पनीका एक/एक वटा मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया