

नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाई हुँदै

कास्की – नाबालिग गायिका बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज सुनुवाइ हुने भएको छ। उच्च अदालत पोखरामा आज पलको निवेदनमाथि सुरुमै पेशी तोकिएको छ। न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासको सुरुमै पेशी तोकिएको बताए।
यसअघि गत साता पनि पेशी तोकिएको थियो। न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा तोकिएको पेशी शाहकै कानुन व्यवसायीले स्थगित गराएका थिए।
पल शाह नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन्। जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध तीनवटा निवेदन उच्च अदालतमा परेका छन्।
दुवै जिल्ला अदालतले पल शाहलाई थुनामा पठाउने आदेश दिएका थिए। तनहुँको आदेशविरुद्ध २०७८ चैत १८ गते र नवलपुरको आदेशविरुद्ध वैशाख १३ गते पल शाहले निवेदन दिएका थिए।
यस्तै सरकारी वकिल कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा निवेदन गरेको छ। तनहुँ अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सरकारी वकिल कार्यालयले पनि त्यसलाई बदर गरी जोशीलाई पनि थुनामा राख्नु पर्ने माग गरेको हो। वकिल कार्यालयले वैशाख २५ गते निवेदन दिएको थियो।
पल शाहले भने आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरेका छन्।

