डा. सुधाको सिंहदरबारको घुम्ने मेच सार्वजनिक


काठमाडौं- डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ । डा. शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत सचिवको कार्यभार सम्हालेकी थिइन् । डा सुधाको पुस्तकमाथि शुभकामना दिँदै पूर्व राष्ट्रपति रामवरण यादवले पुस्तकमा सुधाले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखेकोले यसले आउने पुस्तालाई केही सिक्ने मौका दिने बताए ।

पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ जो २०६२–६३ को विद्रोहपछि निर्माण भएको सरकारका निम्तिसमेत चुनौतिपूर्ण रह्यो । जुन सरकारले महिलाहरूको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च प्राथमिकतामा राखेको उद्घोष गर्थ्यो, त्यही सरकार सशक्त महिला नेतृत्व स्वीकार्नका निम्ति असहजता महसुस गर्ने रोगले ग्रस्त थियो । बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको यो पुस्तक त्यसबेलाका घटनाहरूको चाखलाग्दो दस्तावेज हो, जुन घटनाले २०६३ को विद्रोहलाई निम्त्यायो । साथै ‘नयाँ नेपाल’को समायोजनका क्रममा ब्यूरोक्रेसी भित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथा पुस्तकमा छ ।

‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन् ’यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफल बीच अर्थपूर्ण आयाम थप्नेछ ।’ यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृंखला–२०२० अन्तर्गतको अन्तिम प्रकाशन हो ।

यसअघि दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ र भुवन ढुंगानाको ‘परित्यक्ता’ सार्वजनिक भइसकेका छन् । ‘महामारी र बन्दाबन्दीका बीच हामी हाम्रा प्रकाशनलाई सुस्तरी तर निरन्तरताका साथ सार्वजनिक गरिरहेका छौं,’ नेपालय पब्लिकेसन्सका सीईओ सैजन मास्के भन्छिन् ‘गत महिना हामीले हाम्रो पहिलो प्राइमरी ई–पुस्तक विमोचन ग¥यौं । नेपाली पाठकहरूले सहज सञ्चालन गर्न सक्ने प्लेटफर्महरूमा हाम्रा अघिल्ला प्रकाशनहरू अपलोड गर्दै अघि बढ्नु, डिजिटल पहुँचलाई दुरुस्त पार्ने हाम्रो प्रयास हो । यसले कठिनाइका बीचमा पनि पुस्तक बजारलाई चलायमान राख्न मद्दत पु¥याउँछ भन्ने हाम्रो विश्वास छ ।’

पुस्तकको मूल्य ४ सय २५ रुपैंयाँ छ । मोटो गातामा पुस्तकको मूल्य भने ५ सय ९५ रुपैयाँ राखिएको छ । पुस्तकलाई ई–(बुकका रुपमा थुप्रै डट कमबाट किन्न सकिने छ साथै अमेजनमार्फत् विश्वव्यापी रुपमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया