पालिका निर्वाचनः काठमाडाैंमा बालेनको फराकिलो अग्रता, छवटै महानगरमा एमाले पछाडि


काठमाडाैं – अघिल्लो स्थानीय तह निर्वाचनमा दुई महानगरमा विजयी भएको नेकपा एमाले यो स्थानीय तह निर्वाचनमा सबै महानगरमा पछि परेको छ। जारी मतगणनामा काठमाडाैंसहित दुई महानगर र तीन उपमहानगरमा स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिइरहेका छन्।

देशभरिका छ महानगरमध्ये विराटनगरको परिणाम घोषणा भइसकेको छ भने बाँकीमा मतगणना जारी छ। विराटनगरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। भरतपुर र पोखराबाहेक अरू महानगरमा एमालेका उम्मेदवार १० हजार मतले पछि परेका छन्।

देशभरिका ११ उपमहानगरपालिकामध्ये यसअघि वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा सात वटामा जित हासिल गरेको नेकपा एमालेले यो पटक दुई वटामा जित र एउटामा अग्रता कायम गरिरहेको छ।

छवटा उपमहानगरमा जारी मतगणनामा शनिवार अपराह्णसम्म एमाले पछि परेको देखिन्छ। बाँकी दुई वटामा माओवादी र एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन्।

अघिल्लो निर्वाचनमा एमालेले जितेको धरान उपमहानगर उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो। अहिले त्यहाँ स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् भने एमाले तेस्रो स्थानमा छ।

विराटनगर: प्रमुख कांग्रेस, उपप्रमुख एमाले

प्रदेश १ को राजधानी सहर विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका नागेश कोइराला फराकिलो मतान्तरले निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले कोइरालाको भन्दा झन्डै ९,००० मत कम पाए। कोइरालाले ३०,१७० मत ल्याउँदा एमालेका थापाले २१,४५५ मत पाए।

यो महानगरको उपप्रमुखमा भने एमालेकी शिल्पा कार्की निर्वाचित भएकी छन्। कार्कीले २५,६८० मत पाउँदा पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४,२१९ मत मात्रै पाए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।

सबैभन्दा धेरै मतदाता रहेको यो महानगरमा स्वतन्त्र उम्मेदवारहरूले प्रमुखमा तेस्रो र उपप्रमुखमा चौथो धेरै मत पाएका छन्।

वीरगन्ज: जसपाको फराकिलो अग्रता

मधेश प्रदेशको व्यापारिक केन्द्र वीरगन्ज महानगरपालिकामा सत्ताधारी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका राजेशमान सिंहले ११,००० भन्दा बढी मतको अग्रता कायम गरेका छन्। सिंहलाई एमालेका विजयकुमार सरावागीले पछ्याइरहेका छन्।

यो महानगरको उपप्रमुखमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका कांग्रेसका इम्तियाज आलमले भारी मतान्तरले अग्रता लिएका छन्।लोकतान्त्रिक समाजवादीका पुरुषोत्तम लालसँग उनले करिब १५ हजार मतको अग्रता कायम गरेका छन्। यो महानगरको प्रमुख र उपप्रमुख दुवैमा राप्रपा तेस्रो स्थानमा छ।

निर्वाचनको मुखमा सरावागी एमालेमा प्रवेश गरेका थिए। लोकतान्त्रिक समाजवादी पार्टीबाट एमाले प्रवेश गर्ने तयारी गरिरहेका सिंह त्यसपछि जसपा छिरेर मेयरको उम्मेदवार बनेका थिए।

पोखरा: एकीकृत समाजवादीको अग्रता

गण्डकी प्रदेशको राजधानी सहर पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्यले करिब तीन हजार मतको अग्रता लिएका छन्। प्रतिस्पर्धात्मक देखिएको यो महानगरपालिकामा गठबन्धनका उम्मेदवार आचार्यले एमालेका कृष्णबहादुर थापाविरुद्ध निरन्तर अग्रता कायम राखेका छन्।

चर्चा कमाएका स्वतन्त्र उम्मेदवार खडकराज (गनेस) पौडेल यो महानगरमा राप्रपाका शङ्कर खरालभन्दा पछाडि चौथो स्थानमा छन्। पोखराको उपप्रमुखमा थप नजिकको प्रतिस्पर्धा छ।

यो समाचार तयार पार्दासम्म पोखराको उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटभन्दा केही सय मतको मात्रै अग्रता कायम राखेकी छन्।

भरतपुर: माओवादीको अग्रता बढ्यो

मतगणनाको प्रारम्भिक चरणमा निकै प्रतिस्पर्धात्मक देखिएको बागमती प्रदेशको भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै ५,००० को मतान्तर कायम गरेर अग्रता लिएकी छन्। एमालेका विजय सुवेदीसँग गठबन्धनकी उम्मेदवार दाहालको मतान्तर निरन्तर बढ्दै गएको देखिन्छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाल उम्मेदवार भएका कारण पनि यो महानगरको मत परिणामलाई चासोपूर्वक हेरिएको छ। यो महानगरमा नेपाली कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले पनि १०,००० मत कटाएका छन्।

यो महानगरको उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा करिब १२,००० मतले अघि छन्। यो महानगरमा एमाले र राप्रपाबीच तालमेल भएको थियो।

ललितपुर: नेपाली कांग्रेसको निरन्तर अग्रता

सङ्घीय राजधानी काठमाडाैं उपत्यकाका दुई महानगरमध्ये एक ललितपुरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारसँग झन्डै १०,००० हजार मतको अग्रता कायम गरेका छन्। यो महानगरमा महर्जनले मतगणनाको प्रारम्भिक चरणदेखि नै निरन्तर अग्रता कायम गरिरहेका छन्।

उपप्रमुखमा भने गठबन्धनका तर्फबाट माओवादीका बाबुराज महर्जनलाई करिब ५,००० मतले पछि पार्दै एमालेकी मन्जली शाक्य वज्राचार्यले अग्रता लिइरहेकी छन्। यो महानगरको प्रमुख र उपप्रमुखमा राप्रपाका उम्मेदवार तेस्रो स्थानमा छन्।

काठमाण्डू: बालेनको फराकिलो अग्रता, दोस्रो हुन एमाले र कांग्रेसबीच प्रतिस्पर्धा

काठमाडाैं महानगरपालिका प्रमुखमा मतगणना सुरु भएदेखि नै अग्रता लिएका बालेन्द्र शाह (बालेन) ले मतान्तर बढाउँदै लगेका छन्। यो समाचार तयार पार्दासम्म बालेनले एमाले र कांग्रेसका उम्मेदवार भन्दा १५,००० भन्दा बढी मतको अग्रता लिएका छन्।

यो महानगरमा प्रमुखका उम्मेदवारमध्ये एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठबीचको मतान्तर घट्दो क्रममा देखिएको छ। शनिवार अपराह्ण मतगणनाको ताजा परिणाममा सिंह श्रेष्ठभन्दा १५० भन्दा कम मतले पछाडि छन्।

यो महानगरको उपप्रमुखमा भने एमालेकी सुनिता डङ्गोलले ठूलो मतान्तरले अग्रता लिएकी छन्। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ करिब १५ हजार मतले पछि परेका छन्। यो महानगरमा पनि एमाले र कांग्रेस पछि राप्रपाका उम्मेदवारले धेरै मत पाएका छन्।

काठमाडाैंमा एक लाख ९१ हजार मत खसेकोमा अहिलेसम्म ९५,०० भन्दा बढीको गणना भइसकेको छ। अहिलेसम्मको परिणाममा बालेनले ३६ प्रतिशत मत ल्याएको देखिन्छ भने स्थापित र सिंहले २०-२० प्रतिशत पाएका छन्।

तीन उपमहानगरमा स्वतन्त्रको अग्रता

प्रदेश १ को धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) ले अग्रता कायम गरेका छन्। यो उपमहानगरमा नेपाली कांग्रेस दोस्रो स्थानमा छ। इटहरी उपमहानगरमा कांग्रेसको अग्रता छ एमाले उम्मेदवार दोस्रो स्थानमा छन्।

मधेश प्रदेशको जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता कायम गरेका छन्। एमाले उम्मेदवार दोस्रो स्थानमा छन्। पाँचदलीय गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सुडी विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बनेका हुन्।

गत स्थानीय निर्वाचनमा कांग्रेसले जितेको बाराको कलैया उपमहानगरमा भने एमालेका विनोदप्रसाद साह निर्वाचित भएका छन्। कलैयाको उपप्रमुखमा पनि एमालेकै रौशन परविन निर्वाचित भएकी छिन्।

अघिल्लो पटक एमालेले जितेको बाराकै जितपुर सिमरा उपमहानगरमा यो पटक माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन्। यहाँको उपप्रमुखमा एमालेका भोला प्रसाद अधिकारी निर्वाचित भए।

यसअघि एमालेले जितेको बागमती प्रदेशको हेटौँडा उपमहानगरमा यो पटक एकीकृत समाजवादीकी मीनाकुमारी लामा निर्वाचित भएकी छन्। यो उपमहानगरको उपप्रमुखमा पनि कांग्रेसका राजेश बानियाँ निर्वाचित भए। अघिल्लो पटक एमालेले जितेको लुम्बिनी प्रदेशको बुटवलमा कांग्रेसले अग्रता कायम गरेको छ। यो उपमहानगरमा एमाले दोस्रो स्थानमा छ।

लुम्बिनीकै घोराहीमा भने प्रमुख र उपप्रमुख दुवैमा एमालेले जित हासिल गरेको छ। यो उपमहानगरको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डीसी निर्वाचित भएका छन्। यसअघि पनि घोराहीमा एमालेका चौधरी नै निर्वाचित भएका थिए।

दाङकै तुलसीपुर उपमहानगरमा पनि एमालेले अग्रता कायम गरेको छ। यहाँ भने एमालेको कांग्रेससँग मतान्तर निकै कम छ। तुलसीपुर पनि यसअघि एमालेले जितेको थियो। नेपालगन्ज उपमहानगरको प्रमुखमा कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका कमरुद्दीन राई निर्वाचित भएका छन्। यहाँ यसअघि राप्रपाले जितेको थियो।

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्। यो उपमहानगरमा एमाले उम्मेदवार तेस्रो स्थानमा छन्। धनगढीमा यसअघि कांग्रेसले जितेको थियो। बीबीसी

प्रतिक्रिया