

करोडौंको हिसाव हिनामिना गर्ने मेयरमा र धरौटीमा रिहा हुने वडाध्यक्षमा एमालेबाट उम्मेदवार

झापा । नेकपा एमालले गौरादह नगरपालिकाको मेयरदेखि वडाध्यक्षसम्म अधिकांस बिबादस्पद क्षवि भएकालाई उम्मेदवार बनाएपछि मतदातामा उत्साह हराउँदै गएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको गौरादहमा मेयर र ४ वटा वडामा पुरानै अनुहारलाई वडाध्यक्षमा दोहो¥याएर टिकट दिएपछि नगरवासीमा उत्साह हराएको मात्र होइन, विरोध र गुनासोको स्वरहरु उठ्न थालेका छन् ।
गौरादह नगरपालिकामा नेकपा एमालेले मेयरमा नगरको ५ नम्वर वडाका वडाध्यक्ष छत्रपति सुवेदीलाई उम्मेदवार बनाएको छ भने ४ वटा वडामा निवर्तमान वडाध्यक्षहरुलाई नै दोहोर्याएर उम्मेदवार बनाएको छ ।
एमालेले नगरप्रमुखमा उम्मेदवार बनाएका छत्रपति सुवेदी वडाध्यक्ष हुँदा बिबादस्पद काम गरेर आलोचना र चर्चा कमाएका पात्र हुन् । उनीमाथि विभिन्न विकास निर्माणको काममा करोडौं रकमको हिसाव किताव हिनामिना गरेकोदेखि लिएर भूमिहीन सुकुम्वासीका ५८ वटा फिल्डबुक लुकाएर राखेर दुःख दिएको गम्भीर आरोप छ ।
राष्ट्रिय भूमि आयोग झापाले भूमिहीन सुकुम्वासीलाई जग्गा दिने प्रक्रिया सुरु गर्न लगत संकलन गर्ने क्रममा पूरानो प्रगति विवरण माग गर्दा गौरादह नगरपालिकाको वडा नम्वर ५ का तत्कालिन अध्यक्ष छत्रपति सुवेदीले सुकुम्वासीको नाममा रहेका फिल्डबुक लुकाएका थिए ।
वडाध्यक्ष सुवेदीले फिल्डबुकका कागजात नदिएपछि आयोगका अध्यक्ष तिलकसिंह पाण्डेले सुरक्षाकर्मीको सहयोगमा दराज फोडेर ५८ जनाको फिल्डबुक फेला पारेको थियो । फिल्डबुकमा नाम भएकाहरुलाई आयोगले जग्गा कायम गरी धनीपूर्जा वितरण हुने र आफूहरुको सुकुम्बासीको नाममा गरिने राजनीति धरापमा पर्ने त्रासले सुवेदीले फिल्ड बुक लुकाएको पीडितहरुको गुनासो छ ।
वडाध्यक्ष हुँदा सुवेदीले कोभिड १९ का कारण सरकारले जारी गरेको लकडाउनबाट खाद्यान्न अभाव भएका गरिव परिवारलाई वितरण गरिएको चामलमा कमिसन खाएको आरोप लाग्ने गरेको छ ।
कोरोना संक्रमणले गाँजेको बेला गौरादह नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा करिव २ सय जनाभन्दा कम बसेका थिए । तर, तत्कालिन वडाध्यक्ष सुवेदीले ८ सय जनाको नाममा खाद्यान्न प्रयोग भएको बिल बनाएर नगरबाट नगद बुझेर हिनामिना गरेको आरोप लागेको छ ।
राहतका लागि खरिद गरिएको चामलको भुक्तानी लिइसकेका सुवेदी कति खरिद गरेर कति चामले वितरण भयो भन्ने बारेमा हिसाव किताव सार्वजनिक गरेका छैनन् ।
तराई –मधेस समृद्ध कार्यक्रम अन्तरर्गत गौरादह नगरपालिका वडा नम्वर –१ का लागि आएको विकास बजेट सुवेदीले आफ्नै वडामा लगेका थिए भने नगरको वडा नम्वर ५ मा मकैको चिउरा मिल निर्माणको आयोजना संचालन गर्ने भनी लगेको रकम हिनामिना गरी हालसम्म हर हिसाव सार्वजनिक गरेका छैनन् । सुवेदीले सो आयोजना सम्पन्न गर्न भनेर डेढ करोड बजेट लगे पनि हालसम्म हिसाब किताव सार्वजनिक नगरी हिनामिना गरेका छन् ।
नगरको ५ नम्वर वार्डमा भएका सानो तिनो योजनामा समेत सुवेदीले काम गर्न उपभोक्ता समिति गठन गरी आफ्नो नजिकका व्यक्ति र परिवारका सदस्यलाई राख्ने गरेका छन् ।
गौरादह बजारमा रहेको ाधाकृष्ण सामुदायीक भवन निर्माण गर्दा घरभित्रकै सदस्यहरूलाई राखेर उपभोक्ता समिति बनाएको स्थानीयले दाबी गरेका छन् । जनताको तटबन्ध कार्यक्रम नगरमा सम्पन्न भए पनि हिसाव किताव सार्वजनिक गरिएको छैन भने तर्फको भाग डुबानमा परेको छ । तटबन्धको लागि कहाँबाट बजेट आयो र कति काम गरी कति खर्च भयो भन्ने जानकारी उपभोक्ताहरुलाई समेत गराइएको छैन ।
नगरले नगर अस्पताल निर्माणका लागि सुवेदीकै संयोजकत्वमा जग्गा खोजबिन समिति गठन गरेको तीन वर्ष वितिसक्दा पनि भेटेका छैनन् । जग्गा खोजविन समितिको बैठक बसेर भत्ता लिन भने सुवेदीको रुची भएको स्थानीयवासी बताउँछन् ।
नगरपालिकाको ५ नम्वर वडामा पर्यटकीय क्षेत्र निर्माण र नमूना खेतीका लागि बिनियोजित साढे ७ करोड रुपैयाँ सुवेदीले योजना बनाएर खर्च गर्न ढिलाई गर्दा सबै रकम फ्रिज भएको थियो ।
०७४ को स्थानीय तहको निर्वाचितमा जनप्रतिनिधि भएर आउने बित्तिकै उपमेयरको अध्यक्षतामा बैठक बसाउन लगाउने र नगरप्रमुख रोहितकुमार साहलाई गैरकानूनी ढंगबाट दबाब दिने अभियानको नाईके सुवेदी नै थिए ।
यस्तै, गौरादह नगरपालिकाको वडा नंम्वर ७ मा एमालबाट दोहोर्याएर वडाअध्यक्षको उम्मेदवार भएका बलराम खरेल झन बिबादस्पद छबि भएका नेता हुन् ।
केही महिना अघि मात्र बिर्ता सिटी अस्पतालको जग्गा किर्ते काण्डमा पक्राउ परेका खरेल केही समय जेल बसेर हाल अदालतको आदेशमा धरौटी राखेर रिहा भएका हुन् । उनीमाथि गैरकानूनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सिफारिस गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । जुन आरोप भने पुष्टि भएको छैन ।

