विकल्पको खोजीमा काठमाडौं महानगर, कस्तो आउला नतिजा ?


अस्तव्यस्त र भद्रगोल स्थितिमा बितिरहेका दिनहरुमा केही आशाका किरणहरु जगमगाइदिने बिशेष अवसरको रुपमा चुनावलाई लिइन्छ । चुनाव नै त्यस्तो एउटा अवसर हो जसले एउटा असल पात्रलाई ती मर्दै गएका आशाहरुलाई मूर्त रुप प्रदान गर्न बिशेष स्थानमा पुर्याउन सक्छ ।

स्थानीय चुनाव नजिकिँदै गर्दा देशमा चुनावि माहोल एकदमै तातिरहेको छ । मतदाताहरुमा यो चुनावले पनि विगतकै झैँ समस्याहरु मात्रै थमाउने ब्यक्तिले बाजी मार्लान् कि भन्ने बडो सन्त्रास देखिन्छ । पुरानै पार्टीका पुरानै सोच, ब्यबहार र एजेण्डाले मतदाताहरुलाई सरल, सभ्य र उपर्युक्त व्यक्ति रोज्नलाई अलमलमा पारिरहेको देखिन्छ । यस्तै मतदाताहरुको दोधार र अलमलका बिच देशैभरबाट स्वतन्त्र उमेदवारहरु पनि थुप्रै उठेका छन् । तर बहुदलिय ब्यवस्था भएको देशमा स्वतन्त्र उमेद्वारले कसरी काम गर्न सक्ला ? यो एउटा आशाको त्यान्द्रोमा देखिएको आशंकाको बिम्म हो । जुन असामान्य भने पक्कै हैन ।

धेरै भुईँमान्छेका मसिना प्रश्नका ठेट् उत्तर बनिरहेका स्वतन्त्र उमेद्वारहरु अहिले ठूला दलका लागि भारी परेजस्तो देखिन्छन् । जसको उदाहरणको रुपमा काठमाडौं महानगरप्रमुख पदका स्वतन्त्र उमेद्वार ‘बालेन’ उर्फ ‘बालेन्द्र शाह’लाई लिन सकिन्छ ।

को हुन् बालेन ?

पेशाले स्ट्रक्चरल इन्जिनियर बालेन्द्र शाह काठमाडौंको नरदेवीमा सन् १९९० मा जन्मिएका हुन् । उमेरले ३२ बर्षका उनी सानैदेखि संगीत क्षेत्रमा निकै लगाव राख्दथे । आर्युवेदिक डाक्टरका तीन सन्तान मध्येका कान्छा उनी परिवारमा कुनै राजनैतिक छाप नभएपनि देशको बिग्रँदो अवस्था देखेर धेरै नभएपनि अरुलेभन्दा केही राम्रो गर्ने सोचले राजनीतिमा आउन चाहेको बताउँछन् । तर उनी आफू राजनीतिमा नभई देशको निकास र बिकासको नितीमा होमिएको बताउँछन् ।

उनि इन्जिनियरसँगै  र्याप बिधाका कुशल गायक पनि हुन् । संगीत क्षेत्रसँगै देशका सामाजीक र राजनैतिक बेथितिविरुद्ध खुलेर आवाज उठाउनु उनको संगीत क्षेत्रको बिशेषता नै हो । जसलाई हामी उनका हरेक गितहरुमा पाउन सक्छौँ । उनका गीतहरु मध्ये धेरै गीतमा देशमा भइरहेका बेथितिविरुद्ध युवालाई झकझकाउँदै आकर्षक ढंगबाट आवाज उठाइएको छ । जसमध्ये बलिदान, आस्तिक, आम नेपाली बुबा र तथ्य मुख्य हुन् । उनी कविता लेख्न निकै मन पराउँछन् । उनले बिभिन्न अन्तर्वार्ताहरुमा आफूलाई लक्ष्मी प्रसाद देबकोटा निकै मनपर्ने र उहाँबाट आफू सांगीतिक क्षेत्रमा उत्प्रेरित भएको कुरा पनि बताउँदै आइरहेका छन् ।

शुरुवाती चरणदेखि नै देशमा हैकम चलाउँदै आएका ठूला ठूला पार्टीहरुलाई पनि बालेनको यो उमेद्वारी निकै भारी परेजस्तो देखिन्छ । जुन कुरा अचेल दैनिक रुपमा भइरहेको उनको सक्दो आलोचना र टिकाटिप्पणिले प्रस्टयाउँछ ।

एलियन्स एकेडेमीबाट एसएलसी दिएका शाहले भिएस निकेतनबाट प्लस टु सकेका हुन् भने खुमलटारमा रहेको ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक सकेका हुन् । त्यसैगरी उनले भारतको भिटी विश्वविद्यालबाट सिभिल स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् ।

भारतबाट आफ्नो पढाई पुरा गरेर फर्केपछि उनले नेपालका लगभग ६५ जिल्लाहरुमा काम गरिसकेका छन् । २०७२ सालको भुकम्पले देशमा बनाएको क्षतबिक्षत लाई पुर्ननिमार्ण स्वरुप ब्युँताउने क्रममा उनले धेरै ठाउँमा काम गर्ने अवसर पाएका थिए । उनकी धर्मपत्नी सविना काफ्लेका अनुसार, यसरी काम गर्ने शिलशिलामा भेट भएका विदेशी सहकर्मीको काठमाडौंंप्रतिको टिठलाग्दो अभिव्यक्तिले उनी तर्सेका थिए । त्यसपछि काठमाडौंँलाई गलत ठाउँमा हुन खोजेको आघुनिकतालाई पौराणिकतामै लैजाने अठोट उनले गरेका हुन् ।

महानगरपालिका त्यसमाथि पनि देशको राजधानी जस्तो बिशेष ठाउँमा ठूला पार्टीहरुकाबीच एउटा स्वतन्त्र उमेद्वारले कति भोट ल्याउला ? उनले काट्ने भोटले कुन पार्टीलाई असर पर्ला ? कि उनैले बाजी मार्लान् ? भन्ने जस्ता यावत कुराहरुले अहिले सामाजिक सञ्जालमा धमाका पिटिरहेको छ । जसले अहिले सञ्जालमा ‘भोट फर् बालेन’को नारा राम्रैसँग पिटिरहेका छन् । गत चुनावमा सामाजिक सञ्जालमा यस्तै चर्चा बटुलेकी रञ्जु दर्शना पनि सामाजिक सञ्जालको हुट्हुटिले मात्र चुनाव नजितिने कुराको अनुभव सुनाउँदै आएकी छिन् । यसैबीच उमेद्वार बालने शाह भने आफूले ९० हजार ८ सय ३५ मतले आफूले जित्ने कुरा दाबी गर्दै आएका छन् । जति नै खोज र अध्ययन गरेर आएको भए पनि पहिलो पटक उठ्दै गरेको एउटा स्वतन्त्र उमेद्वारले यसरी ठोकुवा गर्नु एउटा ‘ओभर कन्फिडेन्ट’भन्दा बढी केही हो जस्तो देखिँदैन । तर जानकारहरु भन्छन् “बिना कन्फिडेन्टको परिवर्तन असम्भव जस्तै हो ।”

शुरुवाती चरणदेखि नै देशमा हैकम चलाउँदै आएका ठूला ठूला पार्टीहरुलाई पनि बालेनको यो उमेद्वारी निकै भारी परेजस्तो देखिन्छ । जुन कुरा अचेल दैनिक रुपमा भइरहेको उनको सक्दो आलोचना र टिकाटिप्पणिले प्रस्टयाउँछ । तर उनी त्यस्तो आलोचना र टिप्पणीले आफूलाई थप मतदाताहरुमाझ चिनाउन सहयोग गरिदिएको र आफू अरुको आलोचनाले भन्दा आफ्नै काम र बिचारले राम्रो बन्ने बताउँछन् । अरुको आलोचना गर्ने र खुट्टा तान्दै आफू राम्रो बन्न खोज्ने प्रबृत्ति चलिरहँदा बालेनको यस्तो बिचारलाई मतदाताहरुले उनको सबल पक्षको रुपमा लिइरहेका छन् ।

के बालेनले ९० हजार ८ सय ३५ मतले मार्लान् त बाजी ?

सामाजिक सञ्जालमा धुम मच्चाइरहेका बालेन निर्वाचन आयोगले स्वतन्त्र उमेद्वारलाई चुनावी चिन्ह दिन ढिलाई गरेकै कारण आफू घरदैलो कार्यक्रममा हिँड्न नपाएको बताउँदै आएका थिए । तर आयोगले उनलाई  ‘लौरो’ चिन्ह दिएसँगै उनी हाल घरदैलो कार्यक्रममा हिँड्न थालेका छन् । सुरुमा उनका समर्थक सीमित देखिएपनि अहिले भने त्यसले सयौं र हजारौंको रुप लिएको देखिएको छ ।

२०७४ सालको चुनावी नतिजा हेर्ने हो भने नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएका थिए भने कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए । त्यसैगरी विवेकशील पार्टीका उम्मेदवार रन्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् भने साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएका थिए । यसपटक काठमाडौंँ महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेका छन् भने नयाँ मतदाता २० हजार ९ सय ३३ रहेका छन् ।

अब बालेनको कुरा गर्नुपर्दा, उनले दाबी गरिरहेका मत २०७४ सालको एमालेको मतभन्दा झण्डै २६ हजार बढी मत हो भने विवेकशील र साझा दुवैको जम्मा मतको दोब्बरभन्दा अझै १० हजार बढी मत हो । गत कार्यकालमा एमालेलाई एकातिर प्रष्ट रुपमा काठमाडौंँमा देखाउन नसकेको कामको असर भोटमा पर्नसक्छ भने अर्कोतिर छुट्टिएर बनेको नयाँ पार्टीको पनि असर देखिनसक्छ । त्यसैगरी गठबन्धन र हालका उम्मेदवारको असभ्य शैली पनि एमालेलाई भारी पर्नसक्ने अनुमान लगाउन सकिन्छ ।

अर्कोतर्फ, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहपनि विभिन्न विवादमा मुछिएकी छिन् । उनको उम्मेदवारीलाई धेरैले प्रधानमन्त्री शेर बहादुर देउवाले आफूलाई पार्टी सभापतिको दौरानमा प्रकाशमानले गरेको गुनको पैँचोको रुपमा आलोचना गरिरहेका छन् भने उनलाई परिवारवादको समेत आरोप लागेको छ । उनी तीन दशकसम्म चुप बसेर अहिले एक्कासी राजनीतिमा आउनु प्रकाशमानको अस्ताउँदो राजनीतिमा झिल्को थपिदिन बाहेक अरु नभएको आलोचकहरु बताउँछन् ।

कांग्रेसको यो राम्रो भन्दा हाम्रो नीतिले गर्दा हाल कांग्रेसकै कार्यकर्ताहरु आफ्नो पार्टी देखि रुष्ट भएका देखिन्छन् । तर कांग्रेसलाई गठबन्धनले केही हदसम्म सहज पर्ने भने अवश्य देखिन्छ । यसलाई सिर्जना सिंहको सबल पक्षको रुपमा लिन सकिन्छ । २०७४ को स्थानिय तहको चुनावमा मेयर पदका नेकपा माओवादीका उम्मेदवारले ७ हजार ९ सय ६ मत ल्याएका थिए भने त्यतिबेला तत्कालीन नयाँ शक्तिका मेयर उम्मेदवारले ६ हजार ५० मत ल्याएका थिए । उनले यि मतलाई जोगाउन सकिन् र नयाँ मतदातालाई पनि केही हदसम्म तान्न सकेको खण्डमा उनको पक्षमा राम्रै मत पर्ने देखिन्छ । तर कांग्रेस भित्रको गुट र मतदाता बिच खुल्न नसकेकी प्रमुख पदकी उम्मेदवारका कारण रुष्ट मतदाताहरु बालेनको वा वैकल्पिक बिचारको पोल्टामा पर्न नसक्लान् भन्न सकिन्न ।

यो चुनावलाई हेर्दा काठमाडौंमा सत्तारुढ गठबन्धनको अपाच्य तालमेल, कांग्रेसभित्रै गुट र नातावाद, कृपावाद, परिवारवाददेखि रुष्ट भएका कार्यकर्ता, सपना मात्रै देखाएका तत्कालीन मेयर विद्यासुन्दर शाक्यदेखि भड्किएका कार्यकर्ता, आरोपै आरोपमा मुछिएका स्थापित, पार्टी फुटको संघारमा पुगेका र पार्टी फुटेका अन्य दलहरुका मतदाताहरुको फाइदा नयाँ सोच र बिचारको पोल्टामा थोरबहुत अवश्य पर्ने देखिन्छ ।

त्यसैगरी, विवेकशील र साझाको पार्टी एकताले विवेकशील साझाको केही उचाई त पक्कै बढायो तर पार्टी भित्रको खिसिट्युरी, किचलो र ठेलमठेलले त्यसलाई मूर्त दिन सक्ने कुराको यकिन गर्न निकै कठिन छ । पार्टी फुटको संघारमा पुगिसकेको अवस्थामा हालकी प्रमुख पदकी उम्मेदवार समिक्षा बास्कोटासँग पछिल्लो चुनावमा दुवै पार्टीले बटुलेको एकमुष्ट मतलाई जोगाउन सक्ने कुनै एथेष्ट कारण छैनन् । यसो त उनी अमेरिकाबाट कानुनमा स्नातकोत्तर सकेकी एक सक्षम युवा उम्मेदवार हुन् तर पार्टी संयोजक मिलन पाण्डेको प्रभाव काठमाडौंंमा बढी पर्ने देखिएकाले उनले नयाँ केही मतदाता थप्न सक्लिन् तर पार्टीगत रुपमा उनको मत विगतको तुलनामा कम हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

यसअघि २०७४ को स्थानीय चुनावमा राप्रपाका उपमेयर पदका उम्मेदवार राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । जुन एमाले सँगको तालमेलको परिणाम पनि हुनसक्छ । त्यसैगरी राप्रपाका ३२ वटै वडाका वडा अध्यक्षको मत जम्मा १० हजार भन्दा केही बढी देखिन्छ तर पछिल्लो समय राप्रपामा एकातिर पार्टी फुटको समस्या देखिएको छ भने अर्कोतिर लिङ्देनको केही सकारात्मक असर पनि परेको होकी जस्तो देखिन्छ । तर यो चुनावमा मदनदास श्रेष्ठले त्यो मतलाई जोगाउन सक्ने त्यस्तो कुनै आधार भने देखिएको छैन । बरु पार्टी फुटकै असर बढी पर्ने अनुमान लगाउन सकिन्छ ।

२०७४ को स्थानीय चुनावको काठमाडौंको नतिजा समग्रमा हेर्दा एमाले मेयरको मत भन्दा सबै ३२ वडाका एमालेका वडाध्यक्षको जम्मा मत ८ हजार २ सयको हाराहारीमा बढी देखिन्छ । यसरी त्यसैगरी कांग्रेसका सबै वडाका वडाध्यक्षका जम्मा मत जोड्दा ६३ हजार ३ सयको हाराहारीमा देखिन्छ तर मेयर पदका उम्मेदवार राजुराज जोशीले ४५ हजार २ सयको हाराहारीमा मात्र मत ल्याएका थिए । त्यतिबेला एमालेको तालमेल सस्तो लागेर आफ्नै मतदाताले पनि विवेकशीलकी दर्शना र साझाका थापालाई पत्याएका नहोलान् भन्ने तथ्य देखिँदैन । मेयर र वडाध्यक्षको मत परिणामको फरक हेर्दा कांग्रेसका केही मतदाताले पनि दर्शना र थापालाई नै सहयोग गरेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । यसबाट मतदाताहरु पार्टीकै फुस्रा गफ, गुटबन्दी र अवसरबादी परम्परादेखि रुष्ट भएर नयाँ जोश, सोच र बिचारको खोजी छन् की जस्तो देखिन्छ ।

समग्रमा यो चुनावलाई हेर्दा काठमाडौंमा सत्तारुढ गठबन्धनको अपाच्य तालमेल, कांग्रेसभित्रै गुट र नातावाद, कृपावाद, परिवारवाददेखि रुष्ट भएका कार्यकर्ता, सपना मात्रै देखाएका तत्कालीन मेयर विद्यासुन्दर शाक्यदेखि भड्किएका कार्यकर्ता, आरोपै आरोपमा मुछिएका स्थापित, पार्टी फुटको संघारमा पुगेका र पार्टी फुटेका अन्य दलहरुका मतदाताहरुको फाइदा नयाँ सोच र बिचारको पोल्टामा थोरबहुत अवश्य पर्ने देखिन्छ । त्यसैगरी दर्शना र थापाकै जोश र सोच खोज्दै भौँतारीरहेका मतदाताहरुको थप सहयोगले पनि यसपाली काठमाडौंँका स्वतन्त्र उम्मेदवारलाई थप चुलीमा पुराउने कुरामा दुईमत देखिँदैन ।

प्रतिक्रिया